मलेसियाबाट फर्किएको ४ दिनमै पतिमाथि आक्रमण,अनुसन्धान हुदै



नागरिक अपडेट


विराटनगर : वैदेशिक रोजगारीबाट फर्किएको ४ दिनमै मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलमा शनिबार राति ३६ वर्षीय राजनकुमार अधिकारीमाथि घरभित्रै धारिलो हतियार प्रयोग गरेर आक्रमण भएको छ ।

Advertisement

प्रहरीका अनुसार राति करिब १०:३० बजे घरभित्र सुतिरहेका बेला भएको घटनामा अधिकारीको मुख, हात, टाउको र बायाँ कान लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए ।

Advertisement

घटनापछि अधिकारीलाई तत्काल उद्धार गरेर विराटचोकको सुकुना सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

Advertisement

प्रहरीका अनुसार अधिकारी २ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । फागुन ५ गते मात्र नेपाल फर्किएका हुन् । वैदेशिक रोजगारीबाट फर्किएको ४ दिनमै यस्तो आक्रमण हुनु स्थानीयस्तरमा चासोको विषय बनेको डीएसपी चौधरी बताउँछन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा अधिकारीकी पत्नी रन्जना कार्की (अधिकारी)को संलग्नता देखिएको बताएको छ । चौधरीले भने, ‘प्रारम्भिक अनुसन्धानबाट बाहिरी व्यक्तिसँग मिलेर श्रीमतीले घटना गराएजस्तो देखिन्छ ।’

सोधपुछको क्रममा रन्जनाले आफैंले पतिलाई खुर्पाले प्रहार गरेको स्वीकार गरेकी छन् । तर, घटनास्थलको अवस्था हेर्दा उनी एक्लैले यस्तो क्रूरतापूर्ण घटना गर्न सक्ने अवस्था नदेखिएको डीएसपी चौधरीले बताए । उनले भने, ‘घटनामा अन्य व्यक्तिहरूको संलग्नता पनि हुन सक्ने आशंका छ ।

सबै कोणबाट अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको छ ।’ रन्जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । घटनामा संलग्न अन्य सम्भावित व्यक्तिको पहिचानका लागि प्रहरी टोली खटाइएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनामा संलग्न सम्भावितको खोजी गरिरहेको हो । वैदेशिक रोजगारीबाट फर्किएको केही दिनमै अधिकारीमाथि आफ्नै घरमा आक्रमण हुनुले स्थानीयस्तरमा त्रासको वातावरण सिर्जना गरेको छ । प्रहरीले घटनाको थप प्रमाण संकलन भइरहेको र सम्भावित विषयलाई जोडेर सबै हिसाबले अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया