गुल्मी — धुर्कोट गाउँपालिका–७ वाग्ला लाटीचौरमा चट्याङ पर्दा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । स्थानीय २६ वर्षीया बसन्ता परियारको घरमा चट्याङ लागेपछि आगलागी भई घर पूर्ण रूपमा नष्ट भएको हो ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीका कारण एउटा कुखुरा मरेको छ भने घरमा बसोबास गर्दै आएका ६ जना परिवार सदस्य विस्थापित भएका छन् । उनीहरू हाल बसन्ता परियारका ससुरा गणेश परियारको घरमा आश्रय लिएर बसिरहेका छन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी धुर्कोटवस्तुबाट प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउदको कमाण्डमा प्रहरी टोली खटिएको थियो। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।





