बाग्लुङ — बडिगाड गाउँपालिका वडा नम्बर ६ मा दलित सशक्तिकरण कार्यक्रम तथा दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ। बडिगाड दलित सञ्जाल बडिघाट, बाग्लुङको आयोजनामा सम्पन्न कार्यक्रमले दलित समुदायको हक, अधिकार र सशक्तिकरणका विषयमा व्यापक छलफल गरेको छ।
कार्यक्रम बडिगाड दलित सञ्जालका अध्यक्ष पूर्ण विकको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नम्बर ६ का वडा अध्यक्ष वीरबहादुर खत्रीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सञ्जालका सचिव अनिल बिकले गरेका थिए।
कार्यक्रममा प्रशिक्षक प्रेमबहादुर बिकले दलित अधिकारसँग सम्बन्धित कानुनी व्यवस्था, सामाजिक समानता तथा सशक्तिकरणका विविध पक्षहरूमा प्रशिक्षण दिएका थिए। सहभागीहरूले आफ्ना समस्या, चुनौती र समाधानका उपायबारे पनि छलफल गरेका थिए।
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा नरबहादुर सुनार, उपाध्यक्षमा यम कुमारी राना बितालु, सचिवमा मनबहादुर बिक र कोषाध्यक्षमा कल्पना बिक चयन भएका छन्।
कार्यक्रमले दलित समुदायको सशक्तिकरण र सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको आयोजकले जनाएको छ।






