गुल्मीको ‘विचित्र गुफा’ मा फ्रान्सेली पर्यटक



नागरिक अपडेट


 गुल्मी । गुल्मीको विचित्र गुफा प्रकृतिको अनुपम उपहार हो। आइतबार १७ जना फ्रान्सेली नागरिकले गुफाको प्रत्यक्ष अवलोकन गरे। प्राकृतिक रूपमै विचित्र भएकै कारण विचित्र गुफाका रूपमा परिचित छ । भौगोलिक विकटताको कारण पर्यटकसँग गुफा नजिक बन्न सकिरहेको छैन। गुफामा कुनै कृत्रिमता छैन। जंगल र पहाडको खोँचमा करिब दुई सय मिटर लामो गुफाभित्र धार्मिक दृष्टिकोणले हेर्दा दर्जनौँ आकृति छन् ।जसले पुग्ने पर्यटक आश्चर्यमा पर्छन् । 


फ्रान्सेली नागरिक ८२ वर्षीया मार्गोले नेपाली मान्छे र प्रकृति नै निकै आनन्दलायक रहेको प्रतिक्रिया दिइन्। ‘उमेरका कारणले पूरै गुफाभित्र पुग्न सकिनँ । जहाँ पुगेँ र जे देखेँ निकै सुन्दर तथा मनमोहक छ,’ उनले भनिन्, ‘साधनाका लागि पनि गुफाको बाहिरी वातावरण उपयुक्त रहेछ । मदानेको अरबिन्द आश्रमका योग र साधनका लागि बर्सेनि सयौँ विदेशी पर्यटक आउने गर्छन् । उनीहरूलाई आश्रमसँगै नजिकका पर्यटकीय स्थलहरूमा जोड्ने आफ्नो प्रयास भइरहेको अरबिन्द आश्रमका स्वामी रामचन्द्र दासले बताए । दोभाषेको कामसमेत गरेका दासले गुफाको प्राकृतिक विचित्रताले फ्रान्सेली नागरिक निकै खुसी भएको प्रतिक्रिया दिए। मानव स्वास्थ्यमा योग साधनाको ठूलो महत्व छ। उनीहरूले योग साधनामा ठूलो खर्च गरिरहेका छन् ।

फ्रान्सेली सबै नागरिक क्रिश्चियन भए पनि धर्मभन्दा योग र साधनालाई उनीहरूको प्राथमिकताको विषय भएको पर्यटकको टोलीमा सहभागी अरबिन्द आश्रमका साधक रामचन्द्र घिमिरेले बताए । धुर्कोट गाउँपालिका– ५ वस्तुको यो गुफा पत्ता लागेका तीन दशकभन्दा बढी भयाे। तर, संरक्षण र उचित विकास समयमै हुन सकेन। शान्ति प्रक्रिया पछि गुफा संरक्षणका केही काम भएका छन्। सदरमुकाम तम्घासबाट ४५ मिनेटमा विचित्र गुफा पुगिन्छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडकखण्डबाट गुफा पुग्न १५ मिनेट लाग्छ। अझै पनि गुफाका पुग्ने सडक राम्रो बन्न सकेको छैन भने व्यवस्थित पार्किङ स्थल छैन । अहिलेसम्म गुफाको खास अनुसन्धान पनि भएको छैन। प्राकृतिक रूपमा बनेको धार्मिक कला–आकृतिसहितको गुफा नेपालकै ठूलो हुन सक्ने स्थानीयवासी दाबी गर्छन्। गुफाका धेरै विशेषता लुकेरै बसेका छन्। अहिलेसम्म दुई तलासम्म पुग्ने र अवलोकन गरिएका छन्।

तर, अध्ययन गर्न सके गुफाका अरू तलाहरू पनि अझै आकर्षक हुन सक्ने धुर्कोट गाउँपालिका– ५ का वडाध्यक्ष केशव भण्डारीले बताए। गुफाभित्र फेला परेका संरचनालाई स्थानीयले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्ग जाने बाटोलगायतका नामकरण गरेका छन्। गुफाको मुख्य प्रवेशद्वारबाट झन्डै एक सय ५० मिटर भित्र पुगेपछि अत्यन्तै ठुूलो सभाहलमा पुगिन्छ। गुफाको सभाहलमा दुई सयजना सजिलै अटाउँछन्। नजिकै रहेका शिवलिंगसहितको मन्दिर, राम र कृष्णको प्रतीक, विभिन्न नागहरूको आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृतिले पर्यटकका लागि निकै आकर्षक रहेको गुफा संरक्षक तथा स्थानीय लालमणि भण्डारीले बताए। सभाहलको माथिपट्टिको सिलिङमा विभिन्न आकृतिका कलात्मक बुट्टाले भरिएको छ। बुट्टाको बीचमा रातोमाटोले पोतेर सफा गरेको मण्डपसमेत छ। गुफामा फेला परेका गुफाका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिंगलगायत नामकरण गरिएको र सोहीअनुसार प्रचार गरिएको भण्डारीले बताए।

०६२/६३ सालसम्म फड्के तरेर जोखिमपूर्ण रूपमा गुफा पुग्नुपर्थ्याे। संघीय संरचना पहिलेसम्म पर्यटन तथा संस्कृति मन्त्रालय र रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिलगायतबाट गुफा संरक्षणका केही काम भएका थिए।  संघीयतापछि तीनै तहका सरकारबाट विचित्र गुफाको पूर्वाधार विकास, संरक्षण एवं प्रवर्द्धनका लागि काम भइरहेका छन्। धुर्कोट गाउँपालिकाले गुफासहितका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको एकीकृत विकासको योजना बनाएको छ। जसका लागि गाउँपालिकाले गुरुयोजनामार्फत विचित्र गुफा, ऐतिहासिक धुर्कोटको कोट, सहिदपार्क, धुर्कोटवाललगायत पुराना धार्मिक तथा ऐतिहासिक स्थलहरूको विकास गर्न पूर्वाधार निर्माणका काम भइरहेको धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोख्रेलले जानकारी दिए।

गुफाको विकास गाउँपालिकाकै समृद्धिको आधार बन्न सक्छ। तर, अझै धेरै काम गर्न बाँकी छ। पछिल्लो समय गुफाको प्रचारप्रसार र विकासका लागि सूचना केन्द्र स्थापना गरिएको छ। प्राकृतिक रूपपै विचित्र रहेको गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । त्यसलाई थप व्यवस्थित गरेर प्रचारप्रसार गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको ५० लाखको लागतमा सूचना केन्द्र निर्माण गरिएको छ। सूचना केन्द्रमा विचित्र गुफाका विषयसँगै, धुर्कोटका पर्यटकीय क्षेत्रको जानकारी वृत्तचित्र प्रदर्शन गरिनेछ।

अहिले भवनसहित पर्यटकलाई व्यवस्थित आश्रयस्थल निर्माणको काम भएको गाउँपालिका प्रमुख पोख्रेलले बताए। उनले स्थानीय तहको समृद्धिको आधार कृषि र पर्यटन भएकाले अबको लगानी यी क्षेत्रमा आवश्यक रहेको बताए। यो समाचार नयाँ पत्रिकाबाट साभार गरिएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया