गुल्मीका एक बालकको चन्दाको भरमा सफल शल्यक्रिया



नागरिक अपडेट


मनोज कार्की,गुल्मी – जन्मजात मलद्वार नभएका गुल्मीका एक बालकको चन्दाको भरमा सफल शल्यक्रिया गरिएको छ। जिल्लाको रेसुंगा नगरपालिका-१४ पराल्मीका सात वर्षीय बालकको विभिन्न संघसंस्थाको सहयोग तथा पहलमा सफल शल्यक्रिया गरिएको हो।

आर्थिक अवस्था कमजोर भएर उपचारबाट वञ्चित भएका बालकको शल्यक्रियाका लागि नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीले चैत महिनामा सहयोग संकलन सुर गरेको थियो। बालकको यही वैशाख १५ गते काठमाडौं स्थित मोडल अस्पतालमा सफल शल्यक्रिया गरिएको नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीका अध्यक्ष धुव्र पाण्डेले जानकारी दिए।

बालकको उपचारमा आर्थिक अभाव भएपछि उनको परिवार सहयोगको याचना गर्दै नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीका अध्यक्ष धुव्र पाण्डे समक्ष आएका थिए। अध्यक्ष पाण्डे लगायत संस्थाको सक्रियतामा बालकको उपचारका लागि ७४ हजार २४५ रुपैयाँ सहयोग संकलन गरिएको थियो। बालकको मलद्वार शल्यक्रियाका लागि कुल ४ लाख ५० हजार सहयोग संकलन भएको अध्यक्ष धुव्र पाण्डेले बताए। अध्यक्ष पाण्डेका अनुसार बालकको उपचारका लागि लायन्स क्लब काठमाडौं र रक्तदाता समूहले आवश्यक सहयोग गरेका छन्।

उनको शल्यक्रियामा डाक्टर र बेडको शुल्कमा छुट गरी कुल ३ लाख ४५ हजार खर्च भएको संस्थापक अध्यक्ष नमराज मरासिनीले जानकारी दिए। बालकको उपचारमा सहयोग तथा सफल शल्यक्रिया गर्ने डाक्टर लगायत सबैमा उनले धन्यवाद व्यक्त गरे। सात वर्षीय बालक बाबुराम विश्वकर्मा र कमला विश्वकर्माका पहिलो सन्तान हुन्।

उनको परिवारले गाउँमै ज्याला मजदुरी गरी दैनिकी चलाउँदै आएका थिए। आर्थिक अवस्था कमजोर भएका विश्वकर्मा परिवारले पैसाको अभावमा बिरामी छोरालाई घरमै राखेर बस्नुपरेको थियो। पैसाको अभावमा छोराको उपचार गराउन नसकेपछि उनीहरूले सबैमा सहयोगको याचना गर्दै आएका थिए। सबैको सहयोग र सहकार्यमा छोराको मलद्वारको शल्यक्रिया सफल भएको बताउँदै आमा कमला विश्वकर्माले सबैलाई उनले धन्यवाद दिइन्।

बालकलाई पठनपाठनका लागि महेन्द्र नमुना माध्यमिक विद्यालयले सहयोग गर्ने भएको छ। विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बालकले पढ्न चाहेमा सबै खर्च निःशुल्क गरिदिने घोषणा गरेका छन्।

उक्त संस्थाले विगत केही वर्षदेखि गुल्मी अस्पतालमा उपचारको क्रममा बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउँदै आएको छ। नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीले रगत उपलब्ध गराउनेदेखि समुदायमा दैविक विपत्तिमा विभिन्न सहयोग गर्दै आएको छ। जिल्लाको सदरमुकाम तम्घासमा २०७६ सालमा स्थापना भएको संस्थामा हाल एक सय ३० सदस्य रहेका छन्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया