रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई पदबाट हटाउनुभएको छ । पुटिनले लामो समयदेखि आफ्नो सहयोगी रहँदै आएका शोइगुलाई युक्रेनसँग युद्ध चलिरहेकै बेला पदबाट हटाउनुभएको बीबीसीले जनाएको छ । ६८ वर्षका शोइगु सन् २०२१ देखि रक्षामन्त्री हुनुहुन्थ्यो । उहाँलाई रुसको सुरक्षा परिषद्को प्रमुख बनाउन लागेको बीबीसीको खबरमा उल्लेख छ । रक्षामन्त्रीमा उपप्रधानमन्त्री आन्द्रे बेलोउसुफलाई नियुक्त गर्ने तयारी रहेको छ ।
रुसले युक्रेनमा शुरु गरेको युद्धमा शोइगुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । राष्ट्रपति पुटिनले शक्तिशाली सुरक्षा परिषद्को प्रमुखबाट निकोलाई पात्रुशेभलाई हटाएर शोइगुलाई नियुक्त गर्न लाग्नुभएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् । रक्षामन्त्री नियुक्त हुन लागेका अर्थशास्त्री बेलोउसुफसँग भने सैन्य जानकारी निकै कम रहेको खबरमा उल्लेख छ ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता दिमित्री पेस्कोभले गैरसैनिक पृष्ठभूमिका व्यक्तिलाई रक्षामन्त्री बनाउन लागिएको कुरालाई नवीनता भन्नुभएको बीबीसीले जनाएको छ । अहिले रुसको कुल गार्हस्थ्य उत्पादनको ठूलो अंश सैन्य क्षेत्रमा खर्च हुने गरेको छ । सैन्य खर्चलाई रुसको अर्थतन्त्रमा जोड्नका लागि पनि नवीनता आवश्यक रहेको प्रवक्ता पेस्कोभले बताउनुभएको छ । एजेन्सी