गुल्मी- गुल्मीमा पर्यटकीय गन्तव्य बनाउनको निम्ति निर्माण गरिएको ट्रि–हाउस सुनसान बन्न थालेको छ । केहि समय पहिले पर्यटकको रोजइमा पर्ने गरेको रुख घर अहिले सुनसान बनेको हो ।
जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिकाको वडानम्बर, ५, ६, ७ को संगमस्थल उनयचौरमा सल्लाको रुखमा निर्माण गरिएको ट्रि–हाउसमा अवलोकनकर्ता पुग्न छोडेका छन् । सल्लाको रुखमा फलामको सिडी राखेर ४२ फिट अग्लो रुखमा बनाइएको घरबाट तम्घास बजारसँगै छिमेकी जिल्लाका विभिन्न स्थलहरु हेर्न सकिन्छ ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा चार वर्ष पहिले रेसुङ्गा नगरपालिकाले पर्यटकीय गनतव्य बनाउन सल्लाको रुखबाट तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्य हेर्न सकिने गरि ट्रि–हाउस बनाइएको थियो । तर अहिले त्यस स्थलमा घुम्न जानेहरुको संख्या अत्यन्त न्यून हुँदै गएपछि सुनसान बन्न थालेको छ ।
आन्तरिक तथा बाह्य पर्यटक पुग्न छोडेसँगै हेरालु र नजिकै रहेको होटल समेत बन्द भएको स्थानीय हिमलाल पन्थीले बताउनुभयो । उहाँले कुनै समय निकै पर्यटक आउने ठाउँमा पछिल्लो समय सुनसान बन्दै गएको बताउनुभयो ।