गुल्मीमा राज्यबाट भुक्तानी नहुँदा १५ शय्याको अस्पताल अलपत्र



नागरिक अपडेट


  • अस्पताल भवनमा बनाएका संरचना विग्रने र भत्कने भएकाले त्यसको संरक्षणको लागि भवनमा ताला लगाउनुपरेको निर्माण कम्पनीको दाबी छ।

मनोज कार्की,गुल्मी। गुल्मी – राज्यबाट निर्माण व्यावसायीलाई रकम भुक्तानी नहुँदा गुल्मीको एक अस्पताल सञ्चालनमा आउन सकेको छैन। जिल्लाको गुल्मीदरबार गाउँपालिका-३ धुरेलडाँडामा निर्माण गरिएको १५ शय्याको अस्पताल काम सकि एपनि हालसम्म सञ्चालनमा आउन नसकेको हो । कुनैबेला अस्पताल भवन निर्माणले उत्साहित भएका यहाँका स्थानीय यतिबेला भवन अलपत्र परेपछि निरासमात्र हैन, आक्रोशितसमेत बनेका छन्।

Advertisement

२०८० असार मसान्तसम्म काम सक्नेगरी विकाई, अर्जुन, न्यू लिजा जेभीले १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपैयाँमा भवन निर्माणको जिम्मा पाएको थियो। २०७८ असार २५ गते राज्य र निर्माण कम्पनीबीच सम्झौता भएको थियो। तर, निर्माण कम्पनीले एक वर्षअघि नै अस्पतालको काम सकाइसकेको छ। निर्माण कम्पनीले सम्झौता समय अगावै निर्माणको काम सकेपनि राज्यबाट २ करोड ७ लाख रकम भुक्तानी लिन बाँकी रहेको विकाई, अर्जुन, न्यू लिजा जेभीका प्रतिनिधि विजय खनालले जानकारी दिए।

समयमै अस्पताल भवन निर्माणको काम सम्पन्न गरेपनि राज्यले भुक्तानी नदिएको भन्दै निर्माण व्यावसायीले ताला लगाएका छन्। अस्पताल भवनमा बनाएका संरचना विग्रने र भत्कने भएकाले त्यसको संरक्षणको लागि भवनमा ताला लगाउनुपरेको निर्माण कम्पनीको दाबी छ। अस्पताल निर्माण सकिएपछि गाउँपालिकामा भुक्तानी माग गर्न धैरपटक निर्माण कम्पनी पुगेपनि गरी त्यसको सुनुवाइ नभएको प्रतिनिधि खनालले बताए।

भुक्तानी र भवन हस्तान्तरणको विषय लगेर आफूहरू पुग्ने गरेपनि छलफल गरौंला भन्ने र विभिन्न बाहाना बनाएर गाउँपालिका तर्कन खोजेको उनको आरोप छ। भवन निर्माण सकिएको बर्षदिन वितिसक्दा यसको व्यावस्थापनमा कसैले चासो नदिँदा संरचना समेत जीर्ण बन्न थालेका छन्। भवन वरपर घाँस पलाएर झाडी बन्न थालेको छ। बनेका कतिपय संरचना भत्किन थालेका छन्।

Advertisement

भवनको रकम निकासा गर्नका लागि गाउँपालिका र निमार्ण व्यावसायीले निरन्तर पहल गरिरहेको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताए। भवनको बाँकी रकम भुक्तानी गर्नको लागि पालिकामा कुनै स्रोत नभएकाले आगामी वर्षको बजेटबाट व्यावस्थापन गर्ने तयारीमा गाउँपालिका रहेको गाउँपालिका अध्यक्ष थापाले बताए। आधारभूत अस्पताल निर्माणका लागि देशभरका स्थानीय तहमा सरकारले २०७७ मंसिर १५ गते एकैपटक शिलान्याश गरिएको थियो । गुल्मी खबरबाट साभार

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया