गुल्मीका ग्रामीण क्षेत्रका झोलुंगे पुल जीर्ण



नागरिक अपडेट


अनिल खत्री, गुल्मी। मुसिकोट नगरपालिका-३ पेगाकी पदमाकुमारी कुँवरकी छोरीको घर इस्मा गाउँपालिका-२ मैनडाँडामा पर्छ । पेगा र मैनडाँडा निस्ती खोलाको वारिपारी पर्छन् । वर्षा लागेसँगै पदमकुमारीलाई छोरी कसरी माइती आउली भन्ने पीर पर्छ । किनकी निस्तीखोलामाथिको झोलुंगे पुल जीर्ण भइसकेको छ । ‘हिउँदमा त खोला पनि तर्न सकिन्छ, बर्खायाममा अति नै समस्या छ’, पदमाले भनिन् ।

Advertisement

पदमाको खेत पनि खोलापारि पर्छ । अहिले उनले खेत अरुलाई नै कमाइ गर्न दिएकी छन् । पहिले खेतमा जाँदा पुलका लुठ्ठामा झुण्डिएर वारिपारि गरेको सम्झना उनीसँग छ । यो पुलबाट धेरै मानिसहरु आवतजावत गर्नुपर्ने भए पनि मर्मत सम्भार नहुँदा वारपार गर्न पनि डरलाग्दो छ ।

Advertisement

मुसीकोट वडा नम्बर-३ लसाहा र रेसुंगा नगरपालिका साउने जोड्ने झोलुङ्गे पुल पहाडी जिल्लाका मानिसहरु दैनिक उपभोग्य वस्तु किन्न बुटवल जाने मूलबाटो हो । मुसिकोट नगरपालिका-३ वडागाउँका ५८ वर्षका नारायण महतले थाहा पाएदेखि नै यो पुल यस्तै रहेको छ ।

Advertisement

पुलको लठ्ठा बीचमा चुँडिएकाले अहिले गाँसिएको छ । पुलमा मान्छे हिँड्ने ठाउँमा काठ राखिएको छ, छेछाउमा पनि बार छैन । पुलमा समस्या आउदा स्थानीयले मिलेर मर्मत गर्ने गरेको महतले सुनाए । वर्षातको समयमा बृद्ध र साना बालबालिकालाई उक्त झोलुङ्गे पुल धरापजस्तै बनेको उनको भनाइ छ ।

इस्मा गाउँपालिका-२ रातडाँडा र रेसुङ्गा नगरपालिका–३ भाडगाउँ जोडने झोलुङ्गे पुल अहिले जीर्ण छ । त्यस पुलबाट जोखिम मोलेरै वारपारि गर्ने गरेका छन् । धेरै पुरानो पुल समय समयमा मर्मत गर्ने गरेपनि जोखिम रहेको रेसुङ्गा नगरपालिका–३ का खिमबहादुर पुनले बताए । ४० वर्षका उनले थाहा पाएदेखि नै पुल यस्तै छ । पुलको अरु मर्मत गरे पनि लठ्ठा फेर्नुपर्ने हुनाले गाउँलेको प्रयासबाट मात्र सम्भव नहुने उनको भनाइ छ ।

यस्ता पुल जिल्लाभर दर्जनौं छन् । जिल्लामा २०५७ सालयता सिर्जनशील सामुदायिक संस्था गुल्मीले सयौं पुल बनाएको छ । उक्त संस्थाले विभिन्न दातृ संस्थाको सहयोगमा झोलुंगे पुल बनाउने गर्थ्यो । उक्त संस्थामा कार्यरत सब–इन्जिनियर डिल्लीराज खनालले केही जीर्ण पुल मर्मत सम्भार गरेको बताए ।

सडक र पक्की पुलहरुको निर्माणले कतिपय झोलुंगेपुल प्रयोगविहीन छन्, कतिपय झोलुंगे पुल भने जीर्ण अवस्थामा पनि प्रयोग भइरहेका छन्, मर्मतसम्भारमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले चासो नदेखाउँदा स्थानीय बासिन्दा ज्यान जोखिममा पारेर ओहोरदोहोर गरिरहेका छन् ।

थप तस्वीरहरू :

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया