पाल्पा : बगनासकाली गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई सहयोग गर्ने भएको छ। ती बालबालिकाको स्याहार सम्भारका लागि गाउँपालिकाले सहयोग गर्ने भएको हो। साथै पढ्नका लागि समेत गाउँपालिकाले व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले बताइन्।
उपाध्यक्ष हरिप्रसाद पाठकले मंगलबार प्रस्तुत गरेको बजेटमा अभिभावकविहीन बालबालिकालाई मासिक एक हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने उल्लेख छ। उनीहरूको अवस्था हेरेर थप सहयोग गर्ने उनले बताइन्। विद्यालय भर्ना हुन र आर्थिक अभावले अध्ययन गर्न नसक्ने गरिब, विपन्न र अपांगता भएका बालबालिकालाई विशेष छात्रवृत्ति र सहयोग उपलब्ध गराउने उनले बताइन्।
बाल बचाउ, बालसंरक्षण, बालविकास र बाल सहभागितासँग सम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ। बालबालिकालाई सक्षम बनाउन सके समाजको सर्वांगीण विकासमा ठूलो सहयोग मिल्ने चिदीले बताइन्। किशोरी क्लब नै गठन गरेर बालविवाह न्यूनीकरण अभियानलाई प्रभावकारी बनाइनेछ। विद्यालयमा बालमैत्री वातावरण सिर्जना गरिनेछ।
बालमैत्री व्यवहारलाई कडाइका साथ पालना गरिनेछ। बल राहत उद्धार तथा पुनःस्थापना कोषलाई निरन्तरता दिने उपाध्यक्ष हरिप्रसाद पाठकले बताए। बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषणा भएको हो। आगामी आर्थिक वर्ष २०८२।०८३ मा बालमैत्री दिगोपना सुनिश्चितता घोषणा गरिने लक्ष्य लिइएको छ।
बालमैत्री कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरेको उपाध्यक्ष पाठकले बताए। बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष २०८२।०८३ का लागि ५४ करोड ७५ लाख ८६ हजार १२८ बजेट सार्वजनिक भएको छ।
आर्थिक विकासका लागि १ करोड ९७ लाख ९० हजार, सामाजिक विकासतर्फ ३२ करोड ४० लाख, ८७ हजार, पूर्वाधार विकास १० करोड ९ लाख ३५ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ३६ लाख ७५ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८ करोड, ७५ लाख ९९ हजार १२८ रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष पाठकले बताए।