काठमाडौँ । ४० डिग्रीको उखरमाउलो गर्मी । हलमा एसी जडान त थियो तर, थेगिनसक्नुको भिडका कारण राम्ररी काम गरिरहेको थिएन । असिनपसिन हुँदै कुमासागर गुन्जिँदै थिए–
ओ जाने भए जाऊ
ए माया अब धेरै नसताऊ
ओ तिम्रो त्यो चाल देखेर आज
फुरफुरी लाग्यो लौ
जब उनले मञ्चमा ब्याण्डसहित आफ्नै शैलीमा प्रस्तुति दिन मात्र के थालेका थिए, समर्थकले उनको स्वागतमा चर्को हुटिङ हुन सुरु गरिहाले । यूएईको दुबईस्थित अल नासर लेजरल्याण्डको हलमा ४ हजार भन्दा बढी दर्शकको सहभागितामा आइतबार साँझ कुमा सागर र खोप ब्याण्डले धमकेदार प्रस्तुति दिएको हो ।
गोर्खा साँझ सिजन ३ को उक्त प्रस्तुतिमा कुमा सागर पहिलो पटक दुबईमा गुञ्जिएका हुन् । उनको दुबईमा पहिलो प्रस्तुति भएर पनि होला उनका फ्यानहरू चर्को गर्मीका बिच कार्यक्रम हेर्न आइपुगेका थिए ।
कुमाले आफ्नो प्रस्तुतिका क्रममा हावाको लहर, ओ चम्पा, चमेलीको फूलसहित नेपाली सङ्गीत र धुनहरू सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाए । कुमा र उनको ब्याण्डले प्रस्तुति दिइरहँदा लगातार दर्शकहरूले साथ दिँदै माहौल तताइरहे ।
प्रस्तुतिका क्रममा कुमा सागरले आफूहरू २ दिन दुबईमा रहँदा गर्मीले तर्सिएको उल्लेख गर्दै आफ्नो गुजाराका लागि कयौँ वर्ष पसिना बनाइरहेका नेपालीहरूलाई सम्मान गर्न चाहेको बताए । उनले रहर र खुसीका लागि पसिना बगाउनु नेपालीको बाध्यता भएको भन्दै भावनात्मक कुरा पनि गरे । यस्तै उनले नेवा संस्कृतिको पुनर्जन्ममा आफूहरू सङ्गीतमार्फत लागिपरेको पनि बारम्बार दोहोर्याइरहे ।
प्रस्तुतिका क्रममा कुमालाई ब्याण्डका कलाकारहरूमा शरद देउला, रोशन बज्राचार्य, सुमन गैडा, प्रवीण लाखु, रोशिक जाधरी, अमन माली, बीके प्रजापति, रोज महर्जन र रामसुन्दर धुसुले साथ दिएका थिए ।
कुमाअघि डान्सर ममता राना मगर, लोक दोहोरी गायक मोहन खड्काले आफ्नो प्रस्तुति दिएका थिए । यस्तै दुबईमै रहेर सक्रिय कन्दरा ब्याण्डले पनि भरपुर मनोरञ्जन दिएको थियो ।
कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले अघिल्लो संस्करण भन्दा भव्यरुपमा कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै यसका लागि साथ दिने साथ दिने सबै सरोकारवालालाई धन्यवाद दिए । कार्यक्रमको सहसंयोजक अनिल गुरुङले आइतबारको कार्यक्रममा नेपाली समुदायको समर्थनले आफूहरू थप उत्साहित भएको बताए ।
कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए यूएईका अध्यक्ष विकास शाही, एनआरएनए आईसीसीका उपाध्यक्ष मनोज गोर्खालीका साथसाथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।