गुल्मी । गुल्मी प्रहरीले धार्मिक स्थल रेसुंगा जाने पैदलमार्ग सरसफाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोलीले रेसुंगा जाने पैदलमार्ग सरसफाइ गरेको हो ।
तम्घासस्थित खानीगाउँदेखि पैदलमार्ग हुँदै कालोपत्रे सडकमा निस्कने छोटो दूरीको पैदलमार्गमा सिँढी, नाली र केही मर्मतसमेत गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । शुक्रबार बिहान ६२ जनाको प्रहरी टोलीले उक्त स्थानको सरसफाइ गरेको हो ।
रेसुंगामा साउनभर मेला लाग्ने गर्दछ । मेला लक्षित गरी सिँढीमा जम्मा भएको सल्लाको पात र नालीमा भएको झाडीलाई सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
‘चिटिक्क परेको सिँढी पैदलयात्रीका लागि निकै सहज रहेछ’, उनले भने, ‘हामी जाँदा त्यहाँ फोहर देखेपछि टोली नै लगेर सरसफाइ गरेका हौं ।’ सरसफाइ गरिएपछि पैदलयात्रीलाई राहत हुनेछ । धार्मिक स्थललाई सरसफायुक्त र धार्मिक स्थल जाने सडकलाई सहज बनाउने उद्देश्य रहेको प्रहरीले जनाएको छ ।