पाल्पा — अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले अवरुद्ध भएको हो । बिहान ५ बजे ठूलो पानी परेको र ड्याम साइड र सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा विष्णुप्रसाद पाण्डेयका अनुसार वर्षासँगै पुनः पहिरो खसेकाले सडक अवरुद्ध भएको हो । वर्षा रोकिनासाथ सिद्धबाबा क्षेत्रमा खसेको पहिरो पन्छाइने प्रहरीले जनाएको छ । वर्षा रोकिनासाथ सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको हेभी मेसिनले तत्काल खुलाउने प्रयास गरिने प्रहरीको भनाइ छ ।
सडक अवरुद्ध हुादा पहाडबाट तराई झर्ने र तराईबाट पहाड हिँडेका सयौं सवारी साधन सडकमै अलपत्र परेका छन् । पाल्पाको सिद्धबाबा क्षेत्र अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायतका गन्तव्यमा पुग्ने सवारी साधन र यात्रुले सास्ती खेप्नु पर्ने हुन्छ ।