बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा पहिरोको सास्तीबाट सवारी चालक र यात्रुले सास्ती भोगेको लामै समय भइसक्यो । यसबाट मुक्ति कहिले पाउने टुङ्गो छैन ।
यहाँको पहिरोमा परी धेरैले ज्यान गुमाइसकेका छन् । हालै मात्रै पनि पाल्पाको रामपुर नगरपालिकाका ४२ वर्षीय जनक भण्डारीको सिद्धबाबा मन्दिर नजिकै पहिरोमा परी मृत्यु भयो । श्रीमतीलाई मोटरसाइकलमा राखेर पाल्पाबाट बुटवल आइरहेका उनको सडकमाथिबाट खसेको पहिरोले ज्यान लियो । श्रीमती कल्पना घाइते भइन् ।
लगातार वर्षा हुँदा पछिल्लो साता मात्रै सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड चार पटक अवरुद्ध भयो । माथिबाट पहिरो र ढुङ्गा खस्दा सडक अवरुद्ध हुने गरेको छ ।
यसको विकल्पको रूपमा नुवाकोट-दोभान-बुटवल सडक निर्माण गर्ने घोषणा सरकारले १० वर्षअघि नै गरेको थियो । तर अहिलेसम्म यो सडकको निर्माण सम्पन्न भएको छैन । तिनाउ दोभानका स्थानीय विष्णु पाण्डेय वैकल्पिक सडक नबन्दा सिद्धबाबा क्षेत्रबाटै यात्रा गर्नुको विकल्प नरहेको बताउँछन् ।
सरकारले सिद्धबाबाको विकल्पको रूपमा दोभान-नुवाकोटलाई वैकल्पिक सहायक मार्गको रूपमा विकास गर्ने उद्देश्यले आर्थिक वर्ष २०७२/७३ बाट यो सडकको निर्माण थालेको थियो । तर यस अवधिमा कुल १७ किलोमिटर लामो सडकमध्ये रुपन्देहीतर्फको ९ किलोमिटरको निर्माण लगभग सम्पन्न भएको छ । तर पाल्पातिरको ८ किलोमिटर अलपत्र जस्तै छ ।
निर्माण सुरु भएको पाँच वर्षमा सक्ने भनिए पनि बजेट नपरेका कारण ढिलाइ हुन पुगेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतम बताउँछन् ।
सडक डिभिजन कार्यालय पाल्पाले पछिल्लो समय दुईवटा ठेक्का लागेको थियो । जसअन्तर्गत भगवती कन्स्ट्रक्सन बुटवलले गत असार १५ मा सक्ने गरी २०८१ मङ्सिर २८ मा ठेक्का सम्झौता गरेको थियो । उसले सिद्धार्थ राजमार्गको दोभानदेखि ८० मिटर ढलान, दुईवटा स्ल्याब कल्भर्ट र नाली निर्माण गर्नुपर्ने थियो ।
तर ९८ लाख ८३ हजार रुपैयाँमा ठेक्का लागेको काम अहिलेसम्म पूरा भएको छैन । ठेकेदारले ८० प्रतिशत काम सम्पन्न गरेको दाबी गरे पनि सम्झौताअनुसार अरू काम भएका छैनन् । यही सडक अन्तर्गत नै १२ सय मिटर ढलान, केही स्थानमा ग्याबिन जालीसहित नाली निर्माणका लागि अर्को ठेक्का लागेको छ । यसको बजेट ४ करोड ६२ लाख रुपैयाँ छ ।
उमा–सदाशिव–जय अरुण जेभीले गत वैशाख १४ मा अर्को ठेक्का सम्झौता गरेको थियो । असार २० गतेसम्म सक्ने गरी कामको जिम्मा पाएको उक्त कम्पनीले पनि हालसम्म निर्माण पूरा गरेको छैन । काम नसकेपछि सडक डिभिजन कार्यालयले ६ महिना म्याद थप्ने प्रक्रिया अघि बढाएको सूचना अधिकारी गौतम बताउँछन् ।
योजनाअनुरूप काम भएको भए दोभान–नुवाकोट सडक पाँच वर्षअघि नै पूरा भएर सवारी साधन गुड्न थालिसकेका हुने थिए । तर अब यो सडक कहिले पूरा हुनेमा निश्चित छैन ।
सिद्धबाबा–दोभान खण्डमा वर्षायाममा त पहिरोको त्रास छँदैछ, हिउँदमा समेत धुले पहिरोको जोखिम छ । निर्माण पूरा भएको भनिएको नुवाकोटदेखि बेलबाससम्मको ९ किलोमिटर सडकमा फेरि मर्मत गर्ने अवस्था आएको छ भने पाल्पातर्फको बाँकी भाग छिटो सक्नुपर्ने देखिन्छ ।
यो सडक बनेमा सिद्धबाबा खण्डको पहिरोको जोखिम र जामबाट सवारी चालक र यात्रुले धेरै हदसम्म मुक्ति पाउने स्थानीय व्यवसायी तोया भण्डारी बताउँछन् । रातोपाटी