कालीगण्डकी किनारबाट बेपत्ता छोराको शव भेटियो,आमाको खोजी हुँदै



नागरिक अपडेट


पाल्पा। कालीगण्डकी नदी किनारबाट आमासँगै बेपत्ता भएका छोराको शव फेला परेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित चिफलडाँडाका मणिप्रसाद पाण्डेका नाबालक छोरा ७ वर्षीय अर्पित पाण्डेको शव आइतवार फेला परेको हो ।

Advertisement

ती बालकको शव नवलपुर (पूर्वी नवलपरासी) जिल्लाको मध्यविन्दु नगरपालिका १२ भूपू कासघारीस्थित नारायणी नदी किनारमा फेला परेको प्रहरीलाई उदृत गर्दै छिमेकी सूर्यप्रसाद पाण्डेले थाहाखबरलाई बताए । उनका अनुसार घर र मावली परिवारले शवको पुष्टि गरेका हुन् ।

Advertisement

बेपत्ता भएको ११ दिनपछि शव भेटिएको हो। सोमवार बेलुकी पख पहिचान भएको हो । घाँटीमा लगाएको माला, कानका मुन्द्रा र खुट्टाका औँलाले ती बालकको शवको पहिचान भएको सूर्यले बताए । मृतक बालक अर्पितकी आमा श्यामकला पाण्डेको भने अहिलेसम्म अवस्था पत्ता लागेको छैन ।

Advertisement

स्याङ्जाको गल्याङ नगरपालिका ५ सेतिवेणीस्थित कालीगण्डकी नदी किनारबाट गत साउन २१ गते दुवै जना बेपत्ता भएका थिए । श्यामकलाको ब्याग, चप्पल, बालकको जुत्ता र खेलौना कालीगण्डकी नदी किनारमा रहेको प्रतीक्षालयमा फेला परेको थियो ।

श्यामकलाको भने खोजी भइरहेको घटनास्थलमा रहेका छिमेकी सूर्य प्रसाद पाण्डेले बताए । बेपत्ता भएको दिनदेखि सशस्त्र प्रहरीको गोताखर टोली, प्रहरी, सर्वसाधारणले समेत कालीगण्डकी नदीमा खोजी गरेका थिए । खोजी कार्यलाई जारी राखेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले बताए ।

साउन २१ गते बिहान उपचार गर्न भन्दै श्यामकला छोरालाई लिएर कालीगण्डकी अस्पताल मिर्मी गएकी थिइन् । श्यामकलाका श्रीमान मणिप्रसाद पाण्डे रोजगारीका सिलसिलामा युएई थिए। घटना लगत्तै नेपाल फर्किएका छन् । थाहा खबर

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया