प्युठान — प्युठानको एक सामुदायिक वन क्षेत्रमा जंगली जनावर ठानेर चलाइएको गोली लाग्दा एक किशोरको मृत्यु भएको छ । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार, गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशिल परियारलाई बँदेल ठानेर गोली प्रहार गरिएको थियो । गम्भीर घाइते भएका परियारको चैत ३० गते उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
घटनामा संलग्न मुख्य आरोपी गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसीलाई चैत ३० गते पक्राउ गरिएको हो। उनीसँगै शिकार खेल्न गएका उनका भाइ विश्वास केसी, १९ वर्षीय रवी केसी र एक १५ वर्षीय बालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग गरिएका दुई थान भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, चैत २९ गते राति करिब १०:४५ बजे शिकार खेलेर फर्किने क्रममा जंगलको झाडी हल्लिएको, पातपतिङ्गर तथा प्लास्टिक बजेको आवाज आएपछि जंगली जनावर भएको आशंकामा गोली प्रहार गरिएको थियो। सोही क्रममा सुशिल परियार र उनीसँगै रहेकी गौमुखी–४ की १८ वर्षीया किशोरी घाइते भएका थिए ।
घाइते दुवैलाई तत्काल जिल्ला अस्पताल पुर्याइएको थियो भने थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको थियो । उपचारकै क्रममा परियारको मृत्यु भएको हो भने घाइते किशोरीको अवस्था अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार, मृतक परियार आफ्ना साथी सन्जु परियार (दुर्जे दमाई) सँग करिब साढे तीन घण्टा पैदल हिँडेर उक्त वन क्षेत्रमा आफ्नी ‘केटी साथी’ भेट्न पुगेका थिए। उनले फोन गरेर साथीलाई बोलाएका थिए र उनीहरू जंगलमै बसेर कुराकानी गरिरहेको अवस्थामा गोली प्रहार भएको थियो ।
प्रहरीले अवैध रूपमा हतियार राख्ने तथा चोरी शिकारीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जनाविरुद्ध ज्यानसम्बन्धी कसुर र हातहतियारसम्बन्धी मुद्दा चलाउने तयारी गरेको जनाएको छ ।
मृतकका बुबा गाजिराम दमाईको जाहेरीका आधारमा पक्राउ परेकाहरूमाथि प्युठान जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।






