गुल्मी, गुल्मीको मदाने गाउँपालिका–५ की २४ वर्षीया विष्णु विकले ४ बच्चाको जन्म दिएकी छन् । शनिबार बिहान घरमै एउटा, अस्पताल आउँदै गर्दा बाटोमा एउटा र प्युठान अस्पताल विजुवारमा दुई जना बच्चालाई जन्म दिएकी हुन् ।
घरमा र बाटोमा जन्म भएका दुई छोरीको ज्यान गइसकेको र अस्पतालमा जन्म भएका दुई छोरीको अवस्था ठीक रहेको प्युठान अस्पताल विकास समितिका अध्यक्ष रोयल कृष्ण (कृष्ण बसेल)ले बताएका छन् ।
तीन दिनअघि बुटवलमा उपचारका क्रममा ४ वटा बच्चा रहेको स्वास्थ्यकर्मीले बताएका थिए । आर्थिक अभावका कारण निरन्तर अस्पताल बस्न नसकेको विष्णुकी दिदी सिर्जना विकले बताइन् । विष्णुको यसअघि ८ र ६ वर्षीय छोरी छन् ।
श्रीमान् भारतको सिम्लामा मजदुरी गर्ने र आर्थिक अवस्थाका कारण स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकेको विष्णुकी आमा पार्वतीले बताइन् । उनले भनिन्, ‘छोरीको ज्यान ठीक छ, त्यही ठूलो कुरा भयो ।’
मदाने गाउँपालिका र जिल्ला अस्पताल प्युठानले उनीहरूको उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।






