गुल्मीमा एकहप्ते होटल व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न



नागरिक अपडेट


रमेश विश्वकर्मा,गुल्मी। गुल्मीको तम्घासमा होटल व्यवसायीलाई तालिम प्रदान गरिएको छ । यस जिल्लाका होटल व्यवसायीलाई साना तथा मझौला होटल व्यवस्थापनसम्बन्धी एक हप्तासम्म तालिम प्रदान गरिएको हो ।

Advertisement

पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशको आयोजना एवम् होटल व्यवसायी गुल्मीको समन्वयमा जेठ १२ गतेदेखि १८ गतेसम्म साना तथा मझौला होटल व्यवस्थापनसम्बन्धी तालिमा प्रदान गरिएको हो । त्यस अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पर्यटन नै समृद्धिको आधार भएकाले होटल व्यवसाय पनि एक महत्त्वपूर्ण मेरुदण्ड रहेको बताउनुभयो । तालिमबाट सिकेका कुराहरुलाई आफ्नो पेसा व्यवसायमा व्यवहारिक रुपमा लागू गर्न जरुरी रहेको बताउनुभयो ।

Advertisement

तालिममा सहभागी होटल व्यवसायी हरि खत्रीले आफुहरुको सिप र क्षमता विकासमा तालिमले सहयोग पुर्‍याएको बताउनुभयो । उहाँले पहिलो पटक तालिम लिन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । तालिममा सहभागी कृष्णकुमारी श्रेष्ठ र सिद्धबाबा माध्यमिक विद्यालयका होटल म्यानेजमेन्टका विद्यार्थी राजेन्द्र खत्रीले तालिमबाट नयाँ कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुभयो ।

Advertisement

होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंगबहादुर कुँवरले जिल्लाका विभिन्न स्थानहरुमा समय–समयमा यस्ता तालिमहरु आयोजना गर्दै आएको भन्दै अझै यहाँका होटल व्यवसायीलाई सक्षम बनाउन आगामी दिनमा पनि तालिमको आवश्यकता रहेको बताउनुभयो ।

समयानुकूल होटल व्यवसाय सञ्चालनका लागि तालिम अति नै आवश्यक रहेको भन्दै पर्यटनको एक महत्त्वपूर्ण भाग होटल व्यवसाय भएकाले गुल्मी आउने पर्यटकलाई होटलबाट प्रवाह गरिने सेवा र सुविधाले नै थप पर्यटकहरु ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न जरुरी रहेको बताउनुभयो ।

होटल व्यवसाही मञ्च गुल्मीका संस्थापक अध्यक्ष युवराज भण्डारीले जिल्लाका विभिन्न स्थानमा पुगेर तालिम सञ्चालन गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका अधिकृत विष्णुप्रसाद भुसालले यस प्रदेशका विभिन्न जिल्लाहरुमा समय समयमा होटल व्यवसायीहरुको क्षमता अभिवृद्धि र व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको भन्दै तालिमबाट सिकेका ज्ञान र सीपलाई प्रयोगमा ल्याई आफ्नो व्यवसाय विस्तारका लागि आग्रह गर्नुभयो । गोरखापत्र अनलाइन

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया