युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने चरा भक्तपुरमा भेटियाे



नागरिक अपडेट


भक्तपुर – युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने चरा ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ। तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो चरा असार लागेपछि भक्तपुरको मनोहरा मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिनुभयो । उहाँले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताउनुभयो ।

Advertisement

नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देख्नुभएको थियो । त्याे चरालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेको पन्छी अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

गौथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा भक्तपुरमा असार लागेपछि जोडी नै देखिएको उहाँले बताउनुभयो । युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइने उहाँले जानकारी दिनुभयो ।

Advertisement

योसँगै मनोहरामा पन्छीका करिब तीन सय प्रजाति अभिलेख भएका छन् । एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ पनि देखिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया