गुल्मी । गुल्मीमा पहिरोले घर पुर्दा बेपत्ता पाँच जना मध्ये चार जनाको शव फेला परेको छ । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ६ कँडेलपाटाका भेषबहादुर बिककाे घर पहिरोले पुरिँदा आफूसहित श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनी बिपना बिक र सपना बिक बेपत्ता भएका थिए ।
बेपत्ता मध्ये भेषबहादुरकी श्रीमती सुन्तली बाहेक अन्य चार जनाको शव फेला परेको मालिका गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिए । पहिरोले पुरिएकाे घर कच्ची दुई तले रहेको थियो । रातीको समयमा माथिबाट आएको पहिरोले घर पुर्दा घरपरिवार सबै पहिरोमा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले घटनास्थलमा प्रहरी निरिक्षककाे नेतृत्वमा टाेली खटिएको जानकारी दिए । उनले सशस्त्र प्रहरीसँग पनि समन्वय भई घटनास्थलमा खटिएको तर वर्षायामकाे समय भएकोले छिटो पुग्न समस्या भइरहेको बताए ।