गुल्मी : गुल्मीको मालिका गाउँपालिका–६ स्थित कँडेलपाटामा शनिबार पहिरोमा परी मृत्यु भएका भेषबहादुर विकको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उक्त रकम हस्तान्तरण गरेका हुन्।
प्रजिअ शर्माले आज सङ्घीय सरकार र प्रदेश सरकारको विपद् व्यवस्थापन कोषबाट प्राप्त ११ लाख रुपैयाँ रकम मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल, उपाध्यक्ष उपेन्द्र अर्याल एवं वडाध्यक्ष दीपक भण्डारीसहितको रोहबरमा मृतकका परिवारलाई हस्तान्तरण गरे।
मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले विपद्को घडीमा पालिकावासीलाई धैर्य रहन आग्रह गर्दै पालिकाको तर्फबाट पीडत परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए।
गत शनिबार जिल्लाको मालिका गाउँपालिका–६ स्थित कँडेलपाटामा आएको पहिराले भेषबहादुर विकको घर पुरिँदा उनीसहित उनकी श्रीमती सुन्तली विक, बुहारी सीता विक, नातिनीहरू विपना विक र सपना विकको घटनास्थलमै मृत्यु भएको थियो। पहिराका कारण सोही गाउँका अन्य घर जोखिममा छन्।