काठमाडौँ । यो वर्ष मनसुन सुरु भएयता १ सय १७ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । बुधवार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मनसुनका कारण सिर्जित बाढी पहिरोका घटनामा परी सो सङ्ख्यामा मानवीय क्षति हुनुका साथै १ सय १२ जना घाइते भएको जानकारी गराए ।
मनसुन सिर्जित घटनाका कारण १ सय ८० घर पूर्ण रूपमा क्षति भएको र १ सय ५३ घरमा आंशिक क्षति भएको जानकारी गराए । यी घटनामा झन्डै १३ करोड ८१ लाख रुपैयाँ क्षतिको अनुमान गरिएको जानकारी दिए ।
यस्तै चितवनको सिमलतालमा भएको दुई वटा बस बेपत्ता भएको घटनामा ६२ यात्रु मध्ये ३ जना बाँच्न सफल भएको, ३५ यात्रु अझै बेपत्ता रहेको, फेला परेका ५ शव पहिचान हुन नसकेको जानकारी गराए । सो स्थानमा वडा कार्यालयले बाटो खनेर माटो खोँचमा खसालेको र बाढी आउँदा त्यही लेदोले गाडी बगाउने अवस्था पाइएको जानकारी गराए ।
सचिव अर्यालले यो वर्ष असोज १९ गतेसम्म मनसुनको प्रभाव रहेकोले अझै जोखिम टरिनसकेको बताए । साथै उनले मनसुन अवधिमा हैजा, डेङ्गी लगायतको सरुवा रोगको समेत प्रकोप बढेको जानकारी गराएका छन् ।