तीन वर्षदेखि अलपत्र परेको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सुरु



पत्रपत्रिकाबाट


तीन वर्षदेखि निर्माण कार्य रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सुरु भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा रहेको रंगशाला निर्माण थालेको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यले जानकारी दिए ।

Advertisement

‘प्यारापिटमुनि ढुंगा सोलिङको काम धमाधम भइरहेको छ । निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ,’ आचार्यले भने । रंगशालामा प्रयोग हुने रडको गुणस्तर परीक्षण गर्न काठमाडौं पठाएको उनले बताए । ‘निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरु गरेका छन्,’ उनले भने ।

यसैबीच, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम पूरा गर्न कम्पनीका प्रमुख एवं प्राविधिकलाई आग्रह गरेकी छिन् । महानगरकी प्रमुख दाहालले नगरपालिकाका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता जनाएकी छिन् । उनले निर्माणमा कुनै समस्या आउँदा तत्काल समाधान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् ।

Advertisement

‘निर्माणमा सहजीकरण गर्न महानगरपालिकाले निर्माणस्थलमा कार्यालय स्थापना गर्नेछ,’ दाहालले भनिन् । महानगरपालिकाका उपनिर्देशक इन्जिनियर जगन्नाथ अर्यालले १० हजार दर्शक क्षमताको प्यारापिटसहित मैदान तयार गरिने जानकारी दिए ।

रंगशाला निर्माणको बजेट ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ । सम्झौताअनुसार रंगशाला २२ पुस ०८३ भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । चालू आर्थिक वर्षमा संघीय सरकारबाट २५ करोड र भरतपुर महानगरपालिकाबाट चार करोड ८० लाख बजेट विनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउन्डेसनले पाँच हजारजना अट्ने प्यारापिट तयार गरिसकेको छ । त्यसका लागि दुई सय ८६ वटा पिलर खडा भइसकेका छन् । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा १९ कट्ठा जग्गा रंशगालाका लागि उपलब्ध छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया