काठमाडौँ । नेपालमा पछिल्लो समय डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्याङ्क गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो ।
महाशाखाका अनुसार यस अवधिमा हालसम्म १७ हजार ६ सय २ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ । डेंगुबाट ७६ जिल्ला प्रभावित रहेका छन् ।
प्रभावित जिल्लामध्ये सबैभन्दा बढी कास्की जिल्लामा २ हजार ७ सय ९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, दोस्रो स्थानमा काठमाडौँमा २ हजार ५ सय ६७ जना, तनहुँमा १ हजार ९ सय ५४ जना, पर्वतमा १ हजार ४ सय २१ र चितवनमा ९ सय ७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेशमध्ये गण्डकी प्रदेशमा सबैभन्दा बढी ८ हजार ६२ जनामा डेंगु देखिएको छ । त्यसपछि बागमती प्रदेशमा ५ हजार ५ सय ७१ जनामा डेंगु सङ्क्रमित छन् ।
यसैगरी, कोशी प्रदेशमा १ हजार ४ सय २२ जना, लुम्बिनीमा १ हजार १ सय ३५, सुदूरपश्चिम प्रदेशमा ८ सय १८, मधेसमा ३ सय ४३ तथा कर्णाली प्रदेशमा २ सय ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।