टी-२० महिला विश्वकप : वेस्ट इन्डिजको जितले इंग्ल्याण्ड बाहिरियो



नागरिक संवाददाता


यूएई – महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण तय भएको छ। मंगलबार भएको खेलमा इङ्गल्यान्डलाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले समूहमा पहिलो स्थान हात पारेको छ। दक्षिण अफ्रिका, इङ्गल्यान्ड र वेस्ट इन्डिजले बराबर ६ अङ्क बनाए पनि रन रेटको आधारमा दक्षिण अफ्रिका दोस्रो भएको हो।

Advertisement

सेमिफाइनलमा वेस्ट इन्डिजले न्युजिल्यान्ड तथा दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्ने छन्। इङ्गल्यान्डले दिएको १४२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २ ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा १४४ रन जोडेको हो।

Advertisement

विजयी टोलीका कप्तान हेली म्याथ्युजले ३८ बलमा ५० तथा क्विना जोसेफले ३८ बलमा ५२ रनको योगदान गरे। यी दुईले विस्फोटक सुरुवात गर्दै पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए। क्विना खेलको उमन अफ द म्याच घोषित भइन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले ७ विकेटको क्षतिमा १४१ रनको योगफल खडा गरेको थियो।

Advertisement

इङ्गल्यान्डका लागि नाट स्कारभर ब्रटले अविजित ५७ रनको योगदान गरेकी थिइन्। उनले ५० बलको सामना गरिन्। १३ बलमा २१ रन जोडेकी कप्तान हेथर नाइट रिटायर्ड हुनु इङ्गल्यान्डका लागि दुखद बनेको थियो। वेस्ट इन्डिजकी एफी फ्लेटचरले ४ ओभर बलिङ गर्दा २१ रन खर्चेर ३ विकेट लिइन्।

इङ्गल्यान्ड सन् २०१० पछि पहिलो पटक समूह चरणबाट बाहिरिएको हो। वेस्ट इन्डिज भने इङ्गल्यान्डलाई हराउँदै अन्तिम पटक सन् २०१८ मा सेमिफाइनलमा प्रवेश गरेको थियो। सो संस्करणमा पनि वेस्ट इन्डिज सेमिफाइनलमा न्युजिल्यान्डसँग नै भिडेको थियो।

मङ्गलबारको महत्त्वपूर्ण जित वेस्ट इन्डिजले नियमित कप्तान स्टफाइन जोसेफको अनुपस्थितिमै पाएको हो। जोसेफले घुँडाको चोटका कारण सो खेल गुमाएकी हुन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया