गंगु कुँवर मगर,गुल्मी। गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिले लेकपोखरा क्षेत्रमा आजदेखि बृहत् मेला लाग्ने भएको छ । धार्मिक,ऎतिहासिक , साँस्कृतिक तथा पर्यटकीय धरोहरको रूपमा रहेकोलेकपोखरा क्षेत्रमा माघेसन्क्रान्तिको अवसर पारेर आज पौष २७ गते देखि माघ १ गते सम्म बृहत् मेला लाग्ने भएको हो ।
उक्त क्षेत्रको पोखरीमा स्नान गर्न र मेला भर्न तिर्थालुहरू मालिका गाउँपालिका ,तथा छिमेकी इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका लगायत गुल्मीका विभिन्न स्थानहरू साथै प्युठान , अर्घाखाँची , पाल्पा र बाग्लुङ जिल्लाबाट समेत हजारौ तिर्थालुजनको घुइँचो लाग्ने गरेको समितिका अध्यक्ष चन्द्र बहादुर महताराले जानकारी दिनुभयो।
लेकपोखरा क्षेत्रको पहिचान इतिहास अनुसार वि .सं. १८१२ मा गुल्मी बलेटक्सार निवासी ज्ञवाली तपस्वी बालानन्द गुरु ले एउटा चिम्टा को प्रयोग गरि जंगल मा बास बसि करिब १ बर्ष सम्म कन्दमुल खाएर लगातार पोखरी खनी चार धाम बाट जल ल्याइ मिसाइएको हुँदा यस क्षेत्रमा भक्त जनहरूको उल्लेखनिय उपस्थिति दिनप्रतिदिन बढी रहेको मालिका गाउँपालिका वडा न . ५ का वडा अध्यक्ष रेखा कुमार जि. सी. ले बताउनुभयो।
उहाँका अनुसार यहाँको पोखरीमा स्नान गरि वर माग्नाले मनले इच्छाएको कुरा पूरा हुनुको साथै पाप समेत नष्ट हुने धार्मिक विश्वास रहि आएको छ । मेलाको अवसरमा गुल्मी जिल्ला भित्रका खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता ,सम्मान कार्यक्रम रहने आयोजकले बताएको छ।
यस्तै,पन्चे बाजाको प्रस्तुति , भैली, लोकदोहोरी, भजन कृर्तन लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति सङ्गै विभिन्न प्रतियोगितात्मक कार्यक्रम रहने आयोजकले बताएको छ। समितिले मेलामा आई धार्मिक दर्शनसँगै मोक्ष प्राप्त गर्न र रमणीय स्थानहरूको भरपुर मनोरञ्जन लिन समेत आग्रह गरेको लोकेश गिरिले जानकारी दिनुभयो ।