गंगु कुँवर,गुल्मी। नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिकाको “४३ औं मगर एकता दिवस” कार्यक्रममा महिला मगर पञ्चे बाजा विशेष आकर्षणको रूपमा रहेको छ । संघले आफ्नो ४३ औं मगर एकता दिवस” कार्यक्रममा महिला मगर पञ्चे बाजालाई प्राथमिकताका साथ अगाडी राखेको छ ।
गुल्मीदरबार-३, गौडाकोट राजाका मगर महिलाहरूलाई मगर पञ्चे बाजाको लागि जिम्मेवारी दिईएको नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिका सचिव मोहनविक्रम पुर्वांरेले जानकारी दिनुभयो । संघले यहि फाल्गुण १५ गते विहीबारका दिन आफ्नो ४३ औं मगर एकता दिवस” नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिका वडा नं.-३. गौंडाकोटको व्यवस्थापनमा राजारून्खा माध्यमिक विद्यालयको प्राङ्गणमा विविध कार्यक्रम सहित सम्पन्न गर्न गइरहेको छ ।
मगरहरुको इतिहास, भाषा, कला संस्कृतिहरु संरक्षण एवं प्रवर्द्धन र विकास गर्ने गरि दिवस मनाउन गइरहेको आयोजकले जनाएको छ । लोपोन्मुख मगर संस्कृतिमा आधारित मौलिक झाँकीहरु सहित सोरठी नाँच, नचरी नाच सालैजो, कौडा नाचसँगै स्थानिय कलाकारहरुको प्रस्तुति रहने पनि आयोजकले जनाएको छ ।
कार्यक्रममा वडा नं.-१, बलिथुमको सोरठी, सालैजो, कौडा, वडा नं.-२, जुभूद्धबाट नचरी, बडा नं. ३. गौडाकोटबाट मगर महिला पञ्चे बाजा, वडा नं.-४. वीरबासबाट नचरी लगायत मगर संस्कृतिमा आधारित्त साँस्कृतिक प्रस्तुतीहरू रहनेछन् । यस वर्ष भने विशेष कारणवश रेसुङ्गा नगरपालिका-१३, भंगारीको लोपोन्मुख घाँटु नाच, गुल्मीदरबार वडा नं-३ गौडाकोट निदुरको कालिका नाचलाई समेट्न नसकिएको नेपाल मगरसंघ गुल्मीदरबार गाउँपालिका सदस्य असुन सराङ्कोटीले जानकारी दिनुभयो ।
कार्यक्रम विहान ठिक १० बजे देखि सञ्चालन गर्ने गरी मगर झाँकीहरु सहित मञ्चको कार्यक्रम साथै निवर्तमान समिति सम्मान तथा नयाँ कार्य समिति स्वागत कार्यक्रम सहित विविध साँस्कृतिक कार्यक्रम र बेलुकी कार्यक्रम समापन तथा दिपावली गरि मनाउन गइरहेको सराङ्गकोटीले जानकारी दिनुभयो ।
नेपाल मगर संघ गुल्मीदरबारले प्रत्येक वर्ष मगर समुदायको बाहुल्यता भएका वडाहरूको व्यवस्थापनमा दिवस मनाउदै आइरहेको छ । विगतका वर्षहरूमा जुभुङ्ग. बलिथुम, बीरबासको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको नेपाल मगरसंघ गुल्मीदरबार गाउँपालि अध्यक्ष रामबहादुर पुनले बताउनुभयो । यसै बिच गुल्मीदरबार गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गौंडाकोट गुल्मीको २०८१ साल फाल्गुन १२ गते बसेको बैठकले “४३ औं मगर एकता दिवस” को अवसरमा फाल्गुण १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
एक सूचना जारी गर्दै गुल्मीदरबार गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाको निर्णय भएको हुँदा उक्त दिन सार्वजनिक बिदा राखिएकोले पालिकाले जनाएको छ ।