अलिफ खानका निराधार आरोपप्रति मोहम्मद हलिमको खण्डन



नागरिक संवाददाता


सलीम मियाँ,प्युठान। लोक तथा दोहोरी गायक अलिफ खानले सामाजिक सञ्जालमा आफूमाथि निराधार र अपमानजनक आरोप लगाएको भन्दै सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिमले त्यसको खण्डन गरेका छन्।

Advertisement

शनिबार, अलिफ खानले फेसबुकमार्फत हलिममाथि व्यक्तिगत आक्षेप लगाउने, चरित्र हत्या गर्ने र राजनीतिक रूपमा बदनाम गर्ने प्रयास गरेको भन्दै हलिमले आपत्ति जनाए। खानले हलिमलाई पार्टीको पावर देखाउने धम्की दिने र नैतिक रूपमा गिरेको व्यक्ति भन्दै सामाजिक सञ्जालमै ‘चिन्ने मानिसले मलाई सम्पर्क गर्नु’ भन्ने अपमानजनक पोस्ट लेखेका थिए।

Advertisement

Advertisement

एमाले प्युठानको सचिवालय सदस्य समेत रहेका सरुमारानी गाउँपालिका–४, प्युठान निवासी हलिमले आइतबार पत्रकार सम्मेलन गर्दै अलिफ खानको भनाइ पूर्ण रूपमा झूटो, आधारहीन र मानहानि गर्ने नियतले गरिएको आरोप लगाए।

हलिमका अनुसार, टिकटकमा सामान्य टिप्पणी गरेकै कारण अलिफ खानले आफूमाथि अनावश्यक आरोप लगाएर बदनाम गर्ने कोशिश गरेका हुन्। “मैले सामाजिक सञ्जालमा कुनै अपशब्द प्रयोग गरेको छैन, न त कसैलाई धम्की दिएको छु। तर, अलिफ खानले मेरो नाम खुलाएर सार्वजनिक रूपमा चरित्र हत्या गर्ने प्रयास गरे, जसले मेरो व्यक्तिगत इज्जत, सामाजिक प्रतिष्ठा र नैतिकतामा आँच पुर्‍याएको छ,” – हलिमले भने।

उनले सामाजिक सञ्जालको दुरुपयोग गरी गरिएको यस्तो भ्रमपूर्ण प्रचारविरुद्ध कडा कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसमक्ष अपिल गरेका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया