गुल्मी । नसर्ने तथा सङ्क्रामक रोगको न्यूनीकरणका लागि गुल्मीमा स्वास्थ्यमन्त्री कार्यक्रम सम्पन्न भएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घासको आयोजनामा रेसुङ्गा नगरपालिका–९ मा आयोजित कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख जीवन बस्यालले बताए ।
पछिल्लो समय तीव्र रूपमा बढ्दै गइरहेका मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपना लगायतका नसर्ने रोगहरूको जोखिमबारे आम जनमानसलाई जानकारी गराउनु र समयमै नियन्त्रणका उपायहरू अवलम्बन गर्न प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको हो ।
हाल समाजमा जीवनशैलीमा आएको परिवर्तन, शारीरिक गतिविधिको कमी, असन्तुलित खानपान तथा तनावका कारण यस्ता रोगहरू तीव्र रूपमा फैलिँदै गइरहेका छन् । कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय बासिन्दा, विद्यार्थी तथा विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका डक्टरहरू सुरज पाण्डे र आविष्कार अधिकारीले रोगहरूको पहिचान, प्रारम्भिक लक्षण, रोकथामका उपाय, आयुर्वेदिक दृष्टिकोणबाट हुने उपचार पद्धति लगायतका विषयमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रमले स्थानीय बासिन्दामा रोगप्रतिको चेतना अभिवृद्धि मात्र नगरी, उनीहरूलाई आयुर्वेदिक जीवनशैली अपनाउन पनि प्रोत्साहित गर्ने गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य निरीक्षक चन्द्रप्रसाद भुसालले बताए ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका- ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले समाजमा पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्दै गइरहेकाले यस्ता खालका कार्यक्रम आवश्यक रहेको बताए ।