मनसुनको पहिलो दिन कोशी प्रदेशको कहाँकहाँ भयो क्षति ?



नागरिक अपडेट


विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण कोशी प्रदेशका ६ जिल्ला प्रभावित भएका छन् । नेपालमा शुक्रबार मनसुन भित्रिएको थियो । शनिबार बिहानको वर्षाले धनकुटा, इलाम, झापा, सुनसरी, उदयपुर र मोरङमा क्षति पुर्याएको हो ।

Advertisement

बाढीले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ । लेउती खोलाको बाढीले कोशी लोकमार्गको धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा करिब सय मिटर सडक बगाएको छ ।

Advertisement

शनिबार बिहान आएको बाढीले अवरुद्ध सडक दिनभर मर्मत गरी साझबाट एकतर्फी रुपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रवक्ता, इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले बताए । वर्षासँगैको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गतको झापा खण्डमा तीनवटा डाइभर्सन बगाएको छ । माइखोलाको बाढी बस्तीमा पस्दा २२ परिवार विस्थापित भएका छन् ।

Advertisement

प्रहरीका अनुसार मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’को डाइभर्सनमा बाढीले क्षति पुर्याएको हो । तीनै स्थानको मर्मत पछि सवारी आवागमन खुलेको छ । झापामा प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार कन्काई नदीमा आएको बाढी झापा गाउँपालिका– २ को बस्तीमा पस्दा २२ परिवार विस्थापति भएका छन् ।

झापामै मेचिनगरमा बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको छ । सिद्दी खोलाको मेचीनगर नगरपालिका– १ सुनारे टोल खण्डमा इलामको रोङ गाउँपालिका– ६ का ५६ वर्षीय भगिरथ तामाङको शव फेला परेको हो ।

केसलीया खोलामा आएको बाढीले विराटनगरको बस्तीमा पसेको छ । विराटनगर महानगरपालिका– ६ मा केसलीयाको बाढीले कटान गरी बस्तीमा पसेको हो । बाढीले कटान गरेको क्षेत्रमा नगरप्रहरीले अस्थायी बाध बनाएर रोकथान गरेका छन् ।

अविरल वर्षासँगै कुमाले खोलामा आएको बाढीले इलामको चुलाचुली गाउँपालिका – १ मा निर्माणाधीन पुल भत्काएको छ । स्थानीय कुमाले खोलामा आएको बाढीले सेट्रिङका लागि तयारी अवस्थामा रहेको पुलको संरचना बगाएको हो । बाढीले इलामको माई नगरपालिका–७ मा महमाई–इलाम–लारुम्बा पक्की सडक खण्डमा पहिरो खसेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका– १ नयाँ पुल खोलामा पहिरो झर्दा चतरा–बराहक्षेत्र सडक अवरुद्ध भएको छ । उदयपुरमा बेलका नगरपालिका–८ कोठु खोलामा कच्ची सडक खण्डमा पहिरो झर्दा मैनामैनी–चुहार–भोजपुर सडक अवरुद्ध बनेको छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै वर्षा हुने क्रम बढ्दै जाने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । अनलाईनखबरबाट साभार 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया