काठमाडौँ — एसीसी पुरुष यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको नेपालले मंगलबार आफ्नो दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो ।
मंगलबार जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ दशमलव २ औभरमा मात्र एक विकेट गुमाउँदै सहजै पूरा गर्यो । नेपालका लागि शिवांश बजगाईंले नटआउट रहँदै सर्वाधिक ३८ रन बनाए । यस्तै प्रशिद्ध जैशीले पनि नटआउट रहँदै ३३ रन बनाए । सिंगापुरविरुद्ध पनि उनले नटआउट ५५ रन बनाएका थिए । जोय थापा भने एक रनमै आउट भएका थिए । जापानका लागि बलिङमा काइसी कोबायाशीदोग्गेतले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको जापान ३४ दशमलव ३ ओभरमा अलआउट हुँदै ८० रनमा समेटिएको थियो । जापानका लागि चार्ली हाराहिन्जेले सर्वाधिक ३६ रन बनाउँदा ग्याबी हाराहिन्जेले १३ रन बनाए । बलिङमा नेपालका शुभम खनालले सर्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले १५ रन मात्र खर्चिएर पाँच विकेट लिएका हुन् ।
यस्तै अभय यादवले ६ ओभरमा २५ रन खर्चिँदै २ विकेट लिँदा कप्तान विपिन प्रसाद शर्मा र शुसिलबहादुर रावलले एक/एक विकेट लिए । पहिलो खेल आइतबार नेपालले सिंगापुरविरुद्ध ६ विकेटको सानदार जित हात पारेको थियो । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
उक्त खेलमा नेपालका लागि प्रसिद्ध जैसीले नटआउट सर्वाधिक ५५ रन बनाए । त्यस्तै रौनक श्रीवास्तवले सर्वाधिक ४० रन बनाए । सुभम खनाल अविजित रहँदै ९ रन बनाए । नेपालका ओपनर सुर्यांशु कोइराला भने ९ रन बनाएको अवस्थामा रिटायर्ड हर्ट भएका थिए । सिंगापुरका लागि आकाश तेजाले ३ विकेट लिए । त्यस्तै युवान पाण्डेले १ विकेट लिए ।
यसअघि मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल बनाएको थियो । सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिएका थिए ।
त्यसैगरी, ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुनले ११ बनाउँदै आउट भए । सिंगापुरलाई सस्तैमा समेटने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए । त्यसैगरी सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए ।
एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका छन् ।