सिन्धुपाल्चोक — भोटेकोशी गाउँपालिका-५ छ्याङ्गदीस्थित जंगलमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मादक पदार्थ र गाँजा सेवन गरी ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको हो । ‘घटनालगत्तै हत्या गरिएको आरोपमा पाँच जना पक्राउ परेका छन् ,’जिल्ला प्रहरी सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले भने ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ रहेका छन् । निमा बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न पाँचै जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
‘बालिकालाई जबर्जस्ती करणी गरेर हत्या गरिएको पुष्टि भएको छ,’डीएसपी माधवराज खरेलले भने । बालिका असार १० गते राति हराएकी थिइन् । भोलिपल्ट बिहान ९:३० बजे उनको शव जंगलको खोल्सामा फेला परेको थियो । च्याउ टिप्न जंगल गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय साने शेर्पाले बताए ।
बालिकालाई उनको घरबाट करिब ४ सय मिटर परको बारीमा बोलाएर पाँचै जनाले सामूहिक रूपमा बलात्कार गरी हत्या गरेको प्रहरीसँग बयानमा स्वीकार गरेका छन् । रुखमा शव अड्किएपछि टाउकोमा ढुङ्गाले हानेर खसालिएको समेत प्रहरीको भनाइ छ । अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको थियो । प्रहरी टोलीले अभियुक्तहरूका घर खानतलासी गर्दा अपराधसँग सम्बन्धित सामग्री बरामद गरेको थियो ।
‘बालिकाको शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ भने थप अनुसन्धान अगाडि बढाइएको छ,’डीएसपी खरेलले भने । उनीहरूलाई म्याद थप गरेर जबर्जस्ती करणी र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको उनले जनाए । बालिकाका बाबुआमा वैदेशिक रोजगारीमा भएकाले बालिका दिदी-भिनाजुसँग घरमा बस्दै आएकी थिइन् ।






