सुर्खेत । दैलेखको आठबिस नगरपालिका–१, पाप्नेखोलामा एक अनियन्त्रित टिपर घरभित्र पस्दा एकै परिवारका चार जनासहित पाँच जना घाइते भएका छन् । दुर्घटनालगत्तै टिपर चालक फरार भएका छन् ।
पश्चिम दैलेखको सात्तलाबाट जम्बुकाँधतर्फ आइरहेको बा २ क ९३६९ नम्बरको टिपर सडक छेउमा रहेको स्थानीय (२७) बाले विकको ढुङ्गाले बनेको दुई कोठे घरमा पसेको थियो । टिपरको ठक्करबाट घर पूर्णरुपमा भत्किएको छ भने घरभित्र रहेका व्यक्तिहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेहरूमा घरधनी २७ वर्षीय बाले विक, उनकी २५ वर्षीया श्रीमती मनसरा विक, ६ वर्षीय छोरा रोशन विक र १८ महिनाका छोरा नवीन विक रहेका छन् । त्यस्तै उनीहरूका छिमेकी ५६ वर्षीय जङ्गे कामी पनि घाइते भएको सुनारले बताए ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको सातालास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना गराएर फरार भएका चालक सोही नगरपालिकाको वडा नम्बर २ सिस्नेका हर्कबहादुर शाही रहेको खुलेको छ । ‘उनको खोजी कार्य तीव्र भइरहेको छ,’ उनले भने ।