काठमाडौं । बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ। बुधबार भएको समूह ‘सी’ को खेलमा तुलनात्मक रूपमा बलियो टोली म्यानमारलाई २–१ ले हराउँदै बंगलादेश छनोट भएको हो । बंगलादेशको जितमा स्टार खेलाडी रितु पोर्ना चक्माले २ गोल गरेकी थिइन् ।
फिफा वरियतामा बंगलादेशभन्दा ७३ स्थान माथि रहेको म्यानमारले अन्त्यतिर गोल फर्काएपनि हार भने टार्न सकेन । यो जितसँगै बंगलादेश २ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। बंगलादेशले अब अन्तिम खेलमा तुर्कमेनिस्तानविरुद्ध खेल्न बाँकी छ।
उक्त खेलमा पराजित भएपनि बंगलादेश म्यानमारको ६ अंक पुग्को खण्डमा हेड टू हेडमा अघि रहेर शीर्षमा यथावत् रहनेछ । म्यानमारको ३ अंक मात्र छ। अब उसले शनिबार बहराइनसँगको खेल जितेपनि ६ अंक हुनेछ जहाँ बंगलादेशसँग हेड टू हेडमा पछाडि परिसकेको छ । बंगलादेश महिला टोलीले यसअघि २०१४ र २०२२ को छनोट चरण पार गर्न सकेको थिएन ।
यसपटक भने ऐतिहासिक सफलता हात पारेको हो । पछिल्लो समय फुटबलमा उल्लेख्य प्रगति गर्दै आएको बंगलादेश नेपालको उपाधि यात्रामा पनि तगारो बन्दै आएको छ । बंगलादेशले साफ च्याम्पियनसिप २०२२ र २०२४ को फाइनलमा नेपाललाई हराएर उपाधि जितेको थियो ।