आज साउने संक्रान्ती,तीज गीत गाएर शुरूवाती गर्दै,रेसुङ्गामा साउने मेला शुरु



नागरिक संवाददाता


गंगु कुँवर मगर,गुल्मी। आज साउन १ गते अर्थात साउने संक्रान्ती, कर्कट संक्रान्ती लुतो फाल्ने दिन । आजको दिनबाट चाडवाडको समेत शुरूवात हुने गर्दछ । आज घर घरमा आफन्तजन चेलीबेटी बटुली चोखो मिठो खुवाउने चलन छ । घर घरमा विभिन्न परिकार मध्ये बिशेष गरेर काने झारको रोटी (काने रोटी )पकाउने खुवाउने चलन समेत छ ।

Advertisement

आजकै दिन साथी भाइ , दिदिबहिनी जम्मा भएर बन जंगल , खर्‍यान , मेलापात जाने र भलायो , कुरिलो, स्याल धोती पात , सिरू, अमिलो दाना, नास्पातिको दाना लगायत विभिन्न थरीका बिरुवा, पात फलफूल दाना ल्याउने र धुपाएर घर गोठमा घुसार्ने गरिन्छ । साथै वनजंगलबाट अलिकति दाउरा , अलिकति पात को मुठा पारी अनिवार्य रूपमा घर घरमा ल्याउने चलन छ ।

Advertisement

बेलुकी दिउँसो लिएर आएको दाउरा बाली हातमा लिएर घर परिवार संगै पशु चौपायाको समेत लुतो , थरीथरीका रोगहरू सन्चो बनाइदे भन्दै पर्वते राजालाई पुकार्दै वारिपारिबाट चिच्याउदै राँका फ्याकेर लुतो फाल्ने चलन छ । लुतो फाले पछि मात्र केटाकेटीहरूलाई घरबारीमा फलेका अमिलो , नास्पाती लगयतका फलफूल खान फुकुवा गरिन्छ । लुतो नफाली खाएमा लुतो आउँछ भन्दै खान नदिने चलन छ ।

Advertisement

त्यस्तै बिहानै केही नखाइ चोखो भएर बारीमा गइ धुप ध्वजासँगै अन्नबालीको पूजा गर्ने र कुखुराको भाले चल्लो छाड्ने चलन छ । यदि चल्लो घरमा आएमा त्यसलाई वर्षौं सम्म पाल्ने र त्यही पाली राखेको भाले काटेर पुनः अन्न बालीको पूजा गर्ने चलन छ । तर पहिलेको तुलनामा सबै चलन हराउँदै गएको गुल्मीदरबार -१,बलिथुमका स्थानीय ७४ वर्षीया कलि पुनले बताउनुभयो ।

पहिला पहिला बेलुकी हुनसाथ वारि पारीका गाउँबाट राँको बालेर फलाक्दै लुतो फाल्ने र लुतो फाल्दा बन्दुक हान्ने चलन थियो । उता डम्फू र मादल बजाएर फुकुवा गर्ने चलन थियो । अहिले त यि सबै कहानी भएको छ – उहाँले भन्नुभयो । आजकै दिनबाट बेलुकी चेलीबेटी जम्मा भएर तीज गीत गाएर तीज गीतको शुरूवात समेत गरिन्छ ।

तर अहिले भने यस्ता परम्परा कम हुदै गएको छ । त्यसको तुलनामा अहिले भने साउन महीना भरी हरिया र पहेला चुरा, सारी, कुर्था सुरूवाल, मेहेन्दी लगाउने परम्परा बढ्दो छ । आजैदेखी गुल्मीको धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा साउने मेला लाग्ने गर्दछ ।

साउन महिनाभर रेसुङ्गा स्थित महापोखरीमा स्नान गरी विभिन्न देवालयहरूमा पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुन्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया