गुल्मी । पहाडी जिल्ला गुल्मीको धुर्कोट गाउँपालिका–६, सिस्तुङमा एकै दिन १०० रोपनी क्षेत्रफलमा धान रोपाइँ गरिएको छ । जुन पहाडी भूभागमा असम्भव सरह मानिन्छ । यो रोपाइँ कुनै साधारण कृषि कार्य मात्र होइन, एक भव्य उत्सवका रूपमा सम्पन्न भएको हो । स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले विगत दुई वर्षदेखि एक विशेष परम्पराका रूपमा विकसित हुँदै आएको छ ।
पछिल्लो समय अर्यालले आफ्नो ७० रोपनी र ३० रोपनी भाडामा लिएर धान खेती गर्दै आउनु भएको छ । अर्यालले आफ्नो खेतमा धान रोपाइँलाई सांस्कृतिक उत्सवका रूपमा अघि सार्नु भएको छ । एकै दिन १०० जना रोपाइँ गर्ने खेतारी, ५० जना ठिगारे र तीन वटा ट्याक्टरद्धारा जोत्ने काम गरिएको थियो । रोपाइँमा त्यसको दोब्बर संख्यामा हेर्ने नाँच्ने गाउँने पनि सहभागी थिए ।
जसमा पञ्चे बाजा, राष्ट्रिय कलाकारहरूको प्रस्तुति र स्थानीय समुदायको व्यापक सहभागिता रहन्छ । खेतीपातीलाई बोझ होइन, उत्सवका रूपमा लिन सकिन्छ भन्ने सन्देश दिनका लागि धान रोपाइँलाई भव्य बनाउने गरेको अर्यालले बताउनुभयो । पञ्चे बाजा, गीत–संगीत र रमाइलो गर्दै काम गर्दा थकाइ हुँदैन, उल्टै मन रमाउँने उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरू हरि खत्री र शकुन्तला गैरे, हिमाल कुँवरद्वारा सांगीतिक प्रस्तुति दिइएको थियो । सयौं स्थानीयले सामूहिक रूपमा रोपाइँमा सहभागिता जनाएका थिए । महिलाहरूको लामो लक्सर सहित रोपाइँमा सहभागिता जनाएका थिए । पुरुषहरू बाजागाजासहित नाचगानमा रमाइरहेका थिए । सामूहिक खेती, परम्परा र आधुनिकतालाई जोड्ने यस प्रयासले सिंगो समुदायमा सहकार्यको भावना बलियो बनाएको छ ।
स्थानीय सरकारका प्रतिनिधिहरू र कृषि प्राविधिकहरूले अर्यालको पहललाई नमूना परियोजनाका रूपमा मूल्यांकन गरेका छन् । यसैवर्ष उनलाई गाउँपालिकाले उत्कृष्ट कृषकका रुपमा पुरस्कृत समेत गरिएको थियो । यी यस्ता क्रियाकलापहरूले युवालाई कृषि तर्फ आकर्षित गर्न सक्ने सम्भावना देखिएको छ ।
गुल्मी सिस्तुङको यो उदाहरणले पहाडमा कृषि केवल जीविकोपार्जनको माध्यम नभई उत्सव, रोजगार र पर्यटनको माध्यम बन्न सक्ने सम्भावनाको ढोका खोलेको छ ।
उत्पादनसँगै उद्योग पनि
अर्यालले उत्पादन गरेको धानको चामल अब ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ । यसैवर्ष देखि स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै व्यावसायिकिकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी औपचारिक रुपमा बजारमा पठाइएको हो । २५ किलोग्रामको बोरामा प्याक गरिएको चामलको बोरालाई २ हजार ५ सयमा बेच्ने गरि मुल्य तयार गरिएको छ ।
स्थानीय उत्पादनलाई ब्राण्डमार्फत पहिचान दिन सकिने उदाहरणीय पहलका रूपमा ‘धुर्कोटे चामल’ले अबको दिनमा कृषकहरूको भविष्य उज्यालो बनाउने अपेक्षा गाउँपालिकाले लिएको छ । चामललाई नापतौल गुणस्तर विभाग लगायतका सरकारी प्रक्रिया पुरा गरेर बजारमा पठाइएको कृषक मेघनाथ अर्यालले बताउनुभयो। अर्यालका अनुसार उनले अघिल्लो वर्ष यसक्षेत्रमै धेरै ४ सय मुरि धान उत्पादन गरेका थिए ।
उहाँले ‘धुर्कोटे चामल’को नामले बजारमा छुट्टै स्थान बनाएको बताएका छन् । चामल बजारमा माग धेरै भएको उहाँको भनाइ छ । यसले गाउँमा कृषि व्यवसायिकरण र स्वरोजगार सिर्जनाको सम्भावनालाई थप सशक्त बनाउने देखिएको छ । स्थानीय उत्पादनलाई स्थानीय पहिचानसहित राष्ट्रिय बजारमा पु–याउने उद्देश्यले गरिएको यो प्रयास ग्रामीण अर्थतन्त्र सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला मानिएको छ ।
गाउँमा बाँझिदै गरेका खेतीबारि लिजमा लिएर अर्यालले व्यवसायीक रुपमा धान मकै उत्पादनलाई जोड दिएका छन् । अघिल्लो वर्षको मंसिर महिनामा अर्यालले पहिलो पटक उत्पादन गरेको ४ सय मुरि धान प्रर्दशन समेत गरिएको थियो । पहाडी क्षेत्रमा एउटै कृषकले सयौं मुरि धान उत्पादन गर्ने कृषक पाइदैन ।
तर अर्यालले उत्पादन गरेर गुल्मीमै चर्चा कमाएका थिए । उहाँले गरे हेरक कुराको सम्भव रहेको प्रस्तुत समेत गर्नु भएको छ। अर्को वर्ष मकैको आटो र कोदो उत्पादन र खरिद गरेर बिक्री गर्ने सोचमा रहेको उहाँले बताउनुभयो । भैंसी पालन समेत गरेका अर्यालले उचित मलको प्रयोगले धान खेती पनि राम्रो हुँने गरेको बताउनुभयो ।
गुल्मीबाट बैदेशिक रोगजारिका लागि कोरियामा मेहनत पछि बुटवलमा १६ वर्ष बसेका अर्यालले शहरको सुख्ख छोडेर भैँसी पालन र धान खेतीको व्यवसायलाई अगाल्दै आउनु भएको छ ।
धान खेतीसँगै अर्यालको फममा अहिले माहु भैँसी २२ वटा सहित ४२ वटा भारतबाट ल्याएका मुर्रा जातका भैँसी छन् । हाल यो फर्मबाट दैनिक १ सय लिटर भैँसीको दूध उत्पादन भइरहेको छ। तीन वर्ष पहिले एक करोड बढि लगानीबाट शुरु भएको व्यवसायबाट स्थानीय २० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन्।