गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान तालिका परिवर्तन, यी ३ दिनमा उडान हुने



नागरिक अपडेट


गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि हप्तामा तीन पटक मात्र उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले बिहीवार हुँदै आएको हवाई उडान हटाएको हो ।

Advertisement

यसअघि हप्तामा आइतवार, मङ्गलवार, बिहीवार र शनिवार गरी चार पटक उडान हुँदै आएको थियो । उडान तालिका परिवर्तनपछि अब आइतवार, मङ्गलवार र शनिवार गरी हप्तामा तीन पटक मात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ ।

Advertisement

नेपाल वायु सेवा निगमका अहिले तीन वटा मात्र ट्विनअटर जहाज रहेको र ती जहाजहरू समयसमयमा मर्मत गर्नुपर्ने भएका कारण केही समयका लागि निगमले उडान तालिकामा परिवर्तन गरेको थापाले बताउनुभयो ।

Advertisement

निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत काठमाण्डौबाट बिहान साढे ६ बजे र रेसुङ्गा विमानस्थलबाट बिहान साढे ७ बजे उडान गर्दै आएको छ । काठमाण्डौबाट गुल्मीको भाडादर ७ हजार ५०० र गुल्मीबाट काठमाण्डौ ७ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

निगमले गुल्मीका २०८० साल वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सेवा शुरुआत गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया