गुल्मी – अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध भएको छ । सडक खण्ड अन्तर्गत गुल्मीकाे चन्द्रकोट गाउँपालिका–८ तल्लोफाँट नजिकै रहेको गेँदीखोलामा सडक माथिबाट पहिरो खस्दा केहीबेर अघिदेखि सडक पूर्णरूपमा अवरुद्ध भएकाे हो ।
सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय मजुवाबाट प्रहरी नायब निरीक्षक तिलकबहादुर हिस्सीको नेतृत्वमा टोली पहिरो गएको ठाउँमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयाे ।
सडक माथिबाट ठूलो ढिस्कोसहितको पहिरो खसेका कारण खुलाउनका लागि सडक निर्माण कम्पनी र स्थानीय पालिकासँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो ।
सडक अवरुद्ध भएपछि अहिले बुटवल र पाल्पादेखि वामीटक्सार तथा बाग्लुङकाे खर्बाङ्ग र बुर्तिवाङसम्म आउजाउ गर्ने गाडीहरू बीच बाटोमै रोकिएका छन् । याे सडक गुल्मीमा सबैभन्दा धेरै गाडी सञ्चालन हुने व्यस्त सडक अन्तर्गत पर्दछ ।