काठमाडौँ । भक्तपुरका नेवार समुदायले घण्टाकर्ण राक्षसको दहन गरेर गठेमङ्गल पर्व मनाएका छन् । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गललाई घण्टाकर्ण पर्व पनि भनिन्छ ।
प्राचीन समयमा नेपालमण्डलमा गठामंगल/ घण्टाकर्ण नाम गरेको एउटा दानव रहेको र त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने मानिस मन नपर्ने भएकाले उसले सत्य वचन सुन्न नपरोस् भनेर सधैँकानमा घण्टी झुन्ड्याएर हिँड्ने भएकाले उसलाई घण्टाकर्ण भन्ने गरिएको किंवदन्ती छ ।
घण्टाकर्णले विशेष गरी दोबाटो र चौबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गरेका सर्वसाधारण आतङ्कित थिए । एक दिन घण्टाकर्ण मरेको र ऊ मरेको खुसीयालीमा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर गरी फलामको औँठी लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा राख्ने गरिएको धार्मिक किंवदन्ती रहेको छ ।
चोकचोकमा जम्मा भई मानिसहरूले बुधवार साँझ आगो बालेर भूत भगाएका थिए । पुतलाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहिआएको छ । यो पर्व मनाएमा मानिसलाई विभिन्न रोग, व्याधि नलाग्ने विश्वास गरिन्छ ।