बाजुरा : हिमाली गाउँपालिका- ५ किउडीबाट धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कम्तिमा १५ जना बढी घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा हिमाली गाउँपालिका- ५ की ७६ वर्षीया बाजा रोकाया र सोही गाउँकी ७५ वर्षीया विजौरा रोकाया रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीय अमलाल कार्कीले जानकारी दिएका छन् । किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र।०३००१ ज ०३३८ नम्बरको जीप दुर्घटना भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ । प्रहरी टोली दुर्घटनास्थलतिर गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले बताए ।