बैतडी — पानीसँगै आएको हावाहुरीले शुक्रबार दिउँसो रुख ढल्दा बैतडीको पाटन-१ मा रहेको सकार स्वास्थ्य चौकी भवनमा क्षति पुगेको छ ।सल्लोको रुख भाँचिएर भवनको छतमाथि बज्रिँदा स्वास्थ्य चौकीको एक कोठामा पूर्ण र अर्कामा आंशिक क्षति पुगेको स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र भट्टराईले बताए ।
‘रुखले प्रयोगशाला राखेको कोठामा पूर्ण क्षति गर्दा ५ लाख बराबरको नोक्सान गरेको छ,’ उनले भने, ‘कुपोषण उपचार गर्ने कोठामा आंशिक क्षति गरेको छ ।’ प्रयोगशालाको सामान टुटफुट भएर काम नलाग्ने भएका छन् । स्वास्थ्य चौकीमा प्रयोगशला सेवा अवरुद्ध भएपछि सेवाग्राहीहरुले सामान्य जाँचका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा जानु पर्ने इन्चार्ज भट्टराईले बताए ।
स्वास्थ्यकर्मीहरु अर्को कोठामा हुँदा मानवीय क्षति हुन पाएन । स्वास्थ्य चौकी भवनको छत टिनको पाताले छाएको र भवन पुरानो हुँदा बढी क्षति भएको पाटन-१ का वडाध्यक्ष तर्कसिंह ठगुन्नाले बताए ।