काठमाडौँ । मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने गरी २०७७ सालमा शिलान्यास गरी निर्माण अगाडी बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ ।
हाल नेपाल सरकारले संकटग्रस्त क्षेत्र र प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेस प्रदेशमा सिँचाइ सुविधा पुर्याउन सो आयोजनाको महत्त्वपूर्ण भूमिका रहेको महसुस गरिएको छ । तर एक वर्षअघि नै सो आयोजनाको सुरुङ ब्रेक थ्रु गरिए पनि पटेल–रमण (संयुक्त) निर्माण कम्पनीले बाँध निर्माणको काम प्रभावकारी रूपमा गरेको देखिएको छैन ।
१४ अर्ब सात करोड ५९ लाख रुपियाँको लागतमा यो बाँध निर्माणको ठेक्का लिएको सो निर्माण कम्पनीले बाँध निर्माण सुरु भएको ३० महिनामा ७ प्रतिशत मात्र काम भएको छ ।
सो आयोजनाले सुनकोशी नदीको पानीलाई सुरुङमार्फत कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिण खोलामा खसालिने छ भने त्यहाँबाट मरिन नदी हुँदै बागमती ब्यारेकबाट तराई मधेसका खेतहरूमा सिँचाई गर्ने छ ।
हालसम्म सो आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । २०८४ असोज सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न लक्ष्य रहेको आयोजनाले जानकारी दिएको छ ।
तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी