बुटवल । नारायणगढ–बुटवल सडक आयोजनाको चौथो पटक म्याद थप गरिएको छ । अन्तिम पटकलाई भन्दै सो सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने गरि १ वर्ष म्याद थप गरिएको हो ।
थपिएको म्याद अनुसार निर्माण व्यवसायीले ९ साउन २०८३ मा आयोजनको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने छ । सडक आयोजनाको हालको भौतिक प्रगति ७० प्रतिशत रहेकाले थपिएको अवधिमा आयोजनाको सम्पूर्ण कार्य सम्पन्न हुने आयोजनाले सामाजिक सञ्जाल मार्फत दाबी गरेको छ ।
नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगे पनि काम सुस्त गतिमा अगाडि बढ्दा सरकारको समेत चर्को आलोचना हुँदै आएको छ ।
चिनियाँ ठेकेदार कम्पनी चाइना इस्टेट कम्पनीले अहिले दाउन्नेमा केन्द्रित रहेर काम गरिरहेको छ । दसैँअगाडि दाउन्नेको बाटो पनि कम्तीमा एकतर्फी कालोपत्रे सक्ने ठेकेदार कम्पनीको योजना छ । दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये पश्चिम बर्दघाटतर्फ तीन किलोमिटर मात्रै कालोपत्रे भएको छ ।
सुरु ठेक्का सम्झौताअनुसार यो सडक खण्ड ०७९ साउनमै सम्पन्न भइसक्नुपर्ने थियो । तीनपटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले काममा तदारुकता नदेखाउँदा अहिलेसम्म पनि आयोजना अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीले १८ महिना समय थप गर्न माग गरेपनि उक्त सडक निर्माणको प्रगति सुपरिवेक्षण गर्ने आयोजना निर्देशनालयले भने एक वर्षको मात्र म्याद थप गरेको हो ।
कुल ११४।५३ किलोमिटर लामो यो सडक खण्डमा दाउन्ने बाहेक अधिकांस स्थानमा कालोपत्र गर्ने काम सम्पन्न भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष यात्रा सहज भइसकेको आयोजनाले दाबी गरेको छ । कुल ११४।५३ किलोमिटर लामो सडकमध्ये एकतर्फी एक सय किलोमिटर कालोपत्रे भएको छ भने दुवैतर्फ ८० किलोमिटर कालोपत्रे सकिएको छ ।
स्तरोन्नतिअन्तर्गतको मुख्य कामअन्तर्गत ११३ किलोमिटर सडकमा ६४ वटा पुल, चार सय ७४ वटा कल्भर्ट, १ सय ६।१७ किलोमिटर नाली निर्माण हुनेछ । त्यस्तै, ७० किलोमिटर ४ लेन, २९ किलोमिटर चार लेनसहित दायाँबायाँ ६–६ मिटरको सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन स्तरोन्नति हुनेछ ।