अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ मा सुन्तलाका दाना झर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
केराउको दाना जत्रा हुँदादेखि नै शुरू भएको सुन्तलाको दाना झर्ने क्रम अझै नरोकिएको स्थानीय अगुवा किसान निमानन्द भुसालले बताउनुभयो । आफ्नो बगैँचामा रहेका ३ सयभन्दा धेरै सुन्तलाका बोटमा लटरम्म दाना लागेकोमा झन्डै आधा दाना झरिसकेका उहाँको भनाइ छ ।
मालारानी गाउँपालिका वडा नम्वर २ का किसान अन्न खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । ढुसीको समस्याका कारण सुन्तलाको दाना झर्ने क्रम चलिरहेको पाइएको कृषि ज्ञान केन्द्रका प्राविधिक शारदा आचार्यले बताउनुभयो ।
समस्या बढ्दै गएपछि ज्ञान केन्द्रका प्राविधिकहरूले अनुगमन गरेका हुन् । नमूना परीक्षणका लागि पठाएको र प्रतिवेदन आएपछि कारण प्रष्ट हुने आचार्यले बताउनुभयो ।