गुल्मी । लगानीका सम्भाव्य क्षेत्र पहिचान गर्न आयोजित अन्तरक्रियाले पर्यटन क्षेत्र नै मुख्य प्राथमिकता रहेको निष्कर्ष निकालिएको छ । रेसुंगा नगरपालिकाकाे आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएन) का दुई अध्यक्षसहित लगानी क्षेत्रसँग सम्बन्धित जिल्लाका अगुवासँग रेसुंगामा लगानीका सम्भाव्य क्षेत्र पहिचान गर्न अन्तरक्रिया गरेको थियो ।
पर्यटन व्यवसायी सुदर्शन खनालले पर्यटन क्षेत्रमा लगानी गर्दा यसको सकारात्मक असर चौतर्फी क्षेत्रमा हुने बताए । ‘गुल्मीमा मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगा नै हो’, उनले भने, ‘यहाँका बासिन्दा जाेसँग लगानी गर्ने क्षमता छ, त्यस्ता व्यक्तिले लगानी गर्नै पर्छ ।’ उनले पर्यटकीय क्षेत्रकाे विकासका लागि रेसुंगासहित, रेसुंगा पार्क, बन्दै गरेको जीपलाईन र साइकिलिङ्ग, खानीगाउँमा मगर संस्कृति र तम्घासस्थान मन्दिरलाई जाेड्नुपर्ने उनले बताए । लगानी गर्न सक्ने व्यक्तिहरूमा लगानी गर्ने मनस्थिति, चेतना र वैदेशिक लगानी भित्र्याउनुपर्ने उनको भनाइ छ ।
उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले आफूहरू लगानी गर्न तयार रहेको तर यसका लागि काेही न काेही मियाे हुनैपर्ने बताए । पर्यटन क्षेत्र नै उत्कृष्ट रहेको उनको भनाइ छ ।
एनआरएन बेल्जियमका अध्यक्ष कमल पन्थीले आफ्नो जन्मभूमि रेसुंगा क्षेत्रमा लगानी गर्न तयार रहेको बताए । यहाँको पर्यटनलाई व्यापाक बनाउँदै लैजान स्थानीय सरकारले गरेको प्रयासमा आफूहरू सहभागी हुने उनको प्रतिबद्धता छ । एनआरएन माल्टाका अध्यक्ष रेमलाल खनालले पर्यटकीय प्रचारप्रसार र व्यवस्थापनमा नगरको पहल उत्कृष्ट रहेको भन्दै उनले आफूहरू लगानीका लागि तप्पर रहेको बताए । दुवै एनआरएन अध्यक्ष रेसुंगा नगरवासी हुन् ।
रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले रेसुंगा क्षेत्र धार्मिक पर्यटकको प्रचुर सम्भावनाकाे क्षेत्र रहेको बताए । उनले पर्यटन क्षेत्रमा गरिने लगानीले समग्रताकाे विकास हुने बताए ।
रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले नगरपालिकाकाे समुन्नतिका लागि दीर्घकालीन विकास गर्न लगानी सम्भाव्य क्षेत्रकाे पहिचान गर्न कार्यक्रम आयोजना गरिएको बताए । जसका लागि स्थानीय सरकारको पहलमा निजी क्षेत्रकाे आव्हानमा लगानी हुनुपर्ने उनको धारणा छ ।
रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पर्यटनको क्षेत्रमा ‘जाउँ हिँड रेसुंगा’ ले थुप्रै पर्यटक भित्र्याएको बताए । ‘पर्यटकीय पूर्वाधारमा विकास भएको छ, थप सम्भाव्य क्षेत्र पहिचान गर्ने हो’, उनले भने, ‘गुल्मीको समग्र समुन्नति रेसुंगाकाे पर्यटनसँग जाेडिएकाे छ ।’ उनले नगरपालिकाले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । अन्तरक्रियाकाे निष्कर्ष पर्यटन क्षेत्र नै भएकोले यसबाट समग्र समुन्नति हासिल गर्ने नगरपालिका प्रमुख पन्थीकाे भनाइ छ । लाईभ गुल्मी





