अर्जुन सेन ठकुरी, गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङ्गस्थित निन्युखर्क र ओख्लेदहका दुई विपन्न परिवारलाई यस जाडो याममा जीवन रक्षण गर्न सक्ने न्यानो कपडाको सहयोग गरिएको छ। सामाजिक उत्तरदायित्व बोकेर अघि बढिरहेका सहयोगी मनका धनी, समाजसेवी शेरबहादुर खड्काले गिर बहादुर बिष्ट र कृष्ण परियार (कटुवाल)को परिवारलाई न्यानो कपडासहित बलाङ्केट, सिरानी, डसना र तन्ना वितरण गर्नुभएको हो।
जाडो मौसमले पहाडी भेगका जनताको जीवन झनै कष्टकर बनाउँदा राज्य संयन्त्रको सहयोग सबैसम्म पुग्न नसकेको अवस्थामा, खड्का जस्ता सामाजिक व्यक्तिहरुको व्यक्तिगत पहलले धेरैको जीवनमा राहत दिएको छ। यस्तो समयमा स्वस्फूर्त रुपमा गरिएको सहयोग कार्यले न्यानो मात्र होइन, सम्मान र आशा पनि प्रदान गरेको छ।
यस सन्दर्भमा स्थानीय बासिन्दा महेन्द्र जिसी भन्छन, “पालिकाले वा वडाले निश्चित मापदण्ड बनाएर वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने योजना बनाउँछ होला तर वास्तविक पिडित र टोल-छिमेकमै रहेका आवश्यकता भएकाहरू अझै पनि उपेक्षित छन्।” उनका अनुसार यस्तो सहयोग वितरण गर्दा स्थानीय वास्तविक अवस्थाको अध्ययन गरी छनोट गरिनु जरुरी देखिन्छ।
शेरबहादुर खड्काले भन्नुभयो, “सहयोग सानो होलान् तर मैले देखेका पीडितको पीडामा मल्हम लगाउन सकेँ भने त्यो नै मेरो सन्तुष्टि हो।” यस प्रकारको नागरिक तहबाट भइरहेको सहयोग कार्य अन्य सामाजिक अभियन्ता र संस्थाहरुलाई पनि प्रेरणा दिनसक्ने खालको छ। यस्तो संवेदनशीलता र प्रत्यक्ष समर्पणले समाज परिवर्तनका ढोका खोल्ने विश्वास लिइएको छ।







