गुल्मीमा सुन्तला उत्पादन ३२ प्रतिशतले घट्यो



नागरिक अपडेट


गुल्मी — धुर्कोट गाउँपालिका–१ न्याँगाउँकी कविता विश्वकर्माले २० रोपनी भन्दा बढी क्षेत्रफलमा व्यावसायिक सुन्तला गरिरहेकी छिन् । १८ वर्षदेखि भइरहेको सुन्तला खेतीसँगै ७ वर्षदेखि नर्सरी स्थापना गरेर बिरुवा पनि बिक्री भइरहेका छन्।

Advertisement

अहिले आफ्नो बारीमा आठ सय सुन्तलाका बोट रहेको विश्वकर्माले बताइन्। ५ वर्षदेखि सबै बिरुवाले फल दिइरहेको छ । सुन्तला दाना बेचेर वार्षिक ३ लाख भन्दा बढी आम्दानी र नर्सरीबाट वार्षिक ५ लाख भन्दा बढी रुपैयाँ आम्दानी भइरहेको उनले बताइन् ।

Advertisement

यसवर्ष कम सुन्तला फलेको र मात्रै ५० क्विन्टल मात्रै बजार गएको उनले बताइन्। ‘रोग/किराको प्रकोप बढ्दै जाँदा समस्या हुन्छ, सिँचाइ नहुँदा पनि समस्या हुन्छ आकाशे पानीको भर पर्नुपर्छ’, उनले भनिन्, ‘नयाँगाउँको समग्र समस्या फल दिन तयार भएका बिरुवा सुकेर मर्ने समस्या भइरहेको छ ।’ उनले समग्र रुपमा समस्या समाधान भएमा राम्रो हुने बताइन् । समस्या निराकरण र नियन्त्रण र माटोमा शुद्धीकरण हुन पर्ने तर कृषि चुन प्रयोग गर्नुपर्ने भए पनि बजारमा नपाइने समस्या हुने गरेको उनले बताइन् ।

Advertisement

कालीगण्डकी गाउँपालिका–२ निगारे बिसौनाका नेत्रबहादुर श्रीसले ७ वर्षअघि रोपेका बिरुवाले ५ वर्षदेखि फलेको दिइरहेका छन् । ६ रोपनी क्षेत्रफमा सुन्तला रोपेको उनले बताए । ६ सय भन्दा बढी बिरुवा भएपनि यसवर्ष कम फलेको उनी बताउँछन् । टोलबाट एकमुष्ट सहजीकरण गरेर बिक्री गर्दा ७ लाख रुपैयाँ आम्दानी भएको उनले बताए । ‘यसवर्ष निकै पातलो फल्यो, अर्को वर्ष राम्रो फल्ने अनुमान छ’, उनले भने, ’नयाँ बिरुवाले पनि उत्पादन दिन थालेको छन् ।’

रेसुंगा नगरपालिका–३ भाडगाउँका खेतबहादुर खत्रीले ३ रोपनी क्षेत्रफलमा १५० भन्दा बढी बिरुवा लगाएका छन् । १ लाख ६० हजार रुपैयाँ आम्दानी गरेका उनले यसवर्ष सुन्तला कम फलेको गुनासो गरे। ७/८ वर्षदेखि सुन्तला खेती गरेका उनले रोग/किराको समस्या हुने बताए ।

उनीहरू मात्रै होइन, सुन्तलाका लागि जिल्लाका प्रख्यात नयाँगाउँ, पिपलधारा, लुम्छा, भाडगाउँ, विरवास, राजा, लमसराङ्ग र बलेटक्सार लगायतका किसानले व्यावसायिक रुपमा सुन्तला खेती गरेर आम्दानी गरिरहेका छन् । यहाँको सुन्तला गुल्मी जिल्लाका विभिन्न बजारसँगै मुख्य गरि बुटवल सम्म बजारीकरणका लागि जाने गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्यांक अनुसार गतवर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा भारी गिरावट आएको छ ।

गत वर्ष आठ सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदा ७ हजार ३ सय ६८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला लगाइएको उक्त क्षेत्रफल मध्ये ६ सय १५ हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्रफल हो । जसमध्ये ११.९८ मेट्रिक टन उत्पादकत्व रहेको छ । जसबाट २५ करोड ७८ लाख ६९ हजार पाँच सय रुपैयाँ आम्दानी भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेले बताए ।

यसवर्ष आठ सय १६ हेक्टर क्षेत्रफलमा पाँच हजार १७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला लगाइएको उक्त क्षेत्रफल मध्ये ६ सय ३ हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्रफल हो । जसमा ८.३२ मेट्रिक टन उत्पादकत्व रहेको छ । जसबाट २० करोड ६ लाख ७८ हजार ४ सय रुपैयाँ आम्दानी भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी न्यौपानेले बताए । जुन गतवर्ष भन्दा ३२ प्रतिशत कम हो ।

कृषि ज्ञान केन्द्रका अनुसार सुन्तला उत्पादनमा भारी गिरावट आउनुमा केही क्षेत्रफल समेत घटेको, फूल तथा फल लाग्ने बेलामा बेमौसमी बर्षा, किसानले बगैंचा व्यवस्थापनमा ध्यान नदिनु, फल झर्ने समस्या, रोग/किराको प्रकोप बढेको, जीर्ण बगैंचा र गाउँबस्तीमा काम गर्ने जनशक्तिको अभाव समेतका कारण रहेका छन्।

सुन्तला खेतीमा किसानलाई थप आकर्षित गर्नका लागि स्थानीय पालिकाले बिरुवा वितरण, खाल्डा तयार गर्न अनुदान, रोग/किराको प्रकोप निराकरण र नियन्त्रण गर्न औषधि वितरणलगायतका काम गरिरहेका छन् । सुन्तला उत्पादन हुने क्षेत्रमा सहज व्यावसायिक खेती भएका कारण किसानको आकर्षण पनि बढिरहेको छ । कान्तिपुर

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया