गुल्मीमा गाईगोहरुलाई चरन क्षेत्र तथा आहारको समस्या



नागरिक संवाददाता


गुल्मी – जलवायु परिवर्तनका कारण लामो समयसम्म पानी नपरेका कारण खडेरी परेको छ । यस्तो समयमा आगलागीका घटनाले झन ठुलो समस्या सिर्जना गरेको छ । जंगलमा लागेको आगो मानवबस्तीमा समेत सल्किदाँ लाखौंको क्षति हुने गरेको छ । आगालीबाट पीडितहरु अहिले छिमेकीको घरमा आश्रय लिन बाध्य भइरहेका छन् ।

विभिन्न सामाजिक संघसंस्थाहरुले ती अग्नि पीडित परिवारहरुलाई राहत पुर्याइरहेका छन् । पुर्नबास निर्माणका लागि आगलागी पीडितहरुलाई आर्थिक सहयोग पनि विभिन्न क्षेत्रबाट हुँदै आएको छ । यता रेसुंगा क्षेत्रको वनमा आगलागी हुँदा चौतारा गौशालामा रहेका गाईगोहरुलाई चरिचरन तथा आहारको ठुलो समस्या भएको छ । यसतर्फ भने खासै कसैको ध्यान पुगेको देखिदैन् ।

रेसुंगा क्षेत्रमा आगलागीले करिब ८० प्रतिशत क्षेत्र सखाप पारेको छ । आगलागीले वनमा भएका घाँस जलेर नष्ट हुँदा रेसुंगा गौशालाका गाईहरुको चरन क्षेत्र सुख्या बनेको छ । रेसुंगा संरक्षण समितिले रेसुंगाको गौशाला चौतारामा १५० भन्दा बढी गाईहरुको संरक्षण गर्दै आइरहेको छ । आगलागीले रेसुंगाको वन क्षेत्र सखाप बनाएपछि गाईगोरुहरुको चरिचरन तथा आहारको ठुलो समस्या भएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।

वन्यजन्तु,पशुपंक्षि, जीवजन्तु र प्राकृतिक तथा पर्यावरणलाई समेत क्षति पुर्याउने गरि आगजनी गर्ने जस्तो कुकर्मलाई धार्मिक शास्त्रमा पनि महापाप लाग्ने उल्लेख गरेको भन्दै अध्यक्ष भुसालले वनमा आगलागी गर्ने व्यक्तिहरुलाई राज्यले सुक्ष्म अनुसन्धान गरी कार्वाहीको दायारामा ल्याउन समेत माग गरेका छन ।

रेसुंगा क्षेत्र विभिन्न वनस्पति, जडिबुटि, विभिन्न प्रकारका चराचुरुङ्गी र बन्यजन्तुहरुको वास्थान पनि भएकाले रेसुंगामा एउटा प्रहरी बिटको आवश्यकता पटक–पटक माग गरे पनि सुनुवाई नभएको समेत गुनाँसो गरे । रेसुंगाको संरक्षण गरे मात्रै यहाँका पानीको मुलहरुको संरक्षण गर्न सकिने भएकाले वनमा आगजनी गर्ने व्यक्तिलाई कडा कार्वाहीको आवश्यकता रहेको बताए ।

चौतारा गौशालामा रहेका गाईहरुको चरिचरण क्षेत्र रेसुंगाको जंगल हो । जंगलमा आगलागी भएपछि त्यहाँ भएका घाँस, बिरुवा जलेका छन् । वरपरका भएका पोखरीहरु सुख्खा भएका छन् । जसका कारण गाईहरुलाई आहार र चरिचरनमा समस्या भइरहेको छ ।

यस क्षेत्रमा आगलागीले भएका हरिया घाँस–बिरुवाका बोटबिरुवा सखाप पारेपछि गाईहरुलाई चरणका लागि समस्या भएको छ । सुख्खायाममा गाईहरुको आहारको व्यवस्थापनका लागि आवश्यक घाँस, पराल दानाको सहयोग गर्न संरक्षण समितिका अध्यक्ष भुसालले आव्हान गरेका छन् ।

संरक्षण समितिका सह–सहचिव यज्ञप्रसाद शर्मा पन्थीले गो सेवा गर्नु हिन्दु धर्मालम्बीहरुको महान कर्तव्य भएको भन्दै गाईहरुलाई घाँस,दाना,पराल उपलब्ध गराई गारक्षामा जुट्न आग्रह गर्नुभएको छ। अहिले गाईहरुलाई यस अघि संकलन गरि राखिएका खर,पराल खुवाउने गरिएको छ । घाँस पर्याप्त नहुँदा गाईहरुलाई भरपेट खुवाउन समस्या भइरहेको छ ।

आगलागी हुँद्या यस क्षेत्रका अधिकांश स्थानहरु भिर पाखा, पहरा, पखेरा, कन्दरा भएका कारण आगो नियन्त्रणका लागि दमकल त जानै सक्दैन् । अज्ञात व्यक्तिबाट रेसुंगाधामको विभिन्न क्षेत्रबाट आगलागी हुँदा यहाँका अमुल्य जडीबुटी, बनस्पति, पशुपंक्षितहरुको जलेर अरबौंको क्षति भएको बताए ।

उनले भने,–“आगलागीले रेसुंगा क्षेत्रलाई अत्यन्तै पिडादायी बनाएको छ । आपराधिक मानसिकता भएका व्यक्तिले जंगलमा आगजन्य गर्नेजस्तो गलत कार्यले धेरैले समस्या भोग्नु परेको छ ।” आगजनीले रेसुंगा क्षेत्र भित्र रहेका पानीका मुलहरु सुक्दै जाने, वर्षा हुँदा भुक्षय हुनुका साथै पहिरो जाने खतरा बढ्न जाने देखिएको छ ।

लामो समयदेखिको खडेरी, आगजनी गर्नेजस्तो आपधारिक मनस्थिति भएका व्यक्तिहरुको दुष्च्रकमा रेसुंगा परेको छ । हालसम्म गुल्मीका ८० सामुदायिक वनको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा आगलागी भएको छ । जिल्लाका १२ वटै स्थानीय तहका सामुदायिक तथा निजि वन क्षेत्रमा आगलागी भएको छ । गुल्मी खबरबाट साभार

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया