गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणमा ढिलाई



नागरिक अपडेट


मनोज कार्की,गुल्मी – गुल्मी अस्पतालको भवन निर्माणको काममा ढिलाई भएको छ। अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य थालिएको ३ बर्ष बितिसक्न लाग्दा समेत कामले गति लिन सकेकोछैन् । ठेकेदार कम्पनीले गरेको ढिलासुस्तीका कारण अस्पातल प्रशासन पुरानै भवनबाट नागरिकलाई सेवा प्रवाह गर्न बाध्य छ ।

पछिल्लो समय सेवाग्राहीको आवश्यकता अनुसार डायलासिस, थेरापी,अर्थो लगायतका केही स्वास्थ्य सेवा थपिएका छन । तर अस्पतालमा बिरामीको चाप दैनिब बढ्दै जानथालेपछि यतिबेला भौतिक संरचनाको अभाव देखिएको छ

जिल्लाको सदरमुकाम तम्घास स्थित यस अस्पतालमा उपचारको लागि गुल्मी,अर्घाखाँची,प्युठान,बाग्लुङ्ग लगायत आसपासका जिल्लाका नागरिक आउने गर्दछन् ।निनर्माण कम्पनीले गरेको ढिलासुस्तीका कारण गुल्मी अस्पतालले पुरानै साँगुरो भवनबाट नागरिकलाई सेवा प्रवाह गर्दै आएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले जानकारी दिए।

“अस्पतालमा बिशेषज्ञ डाक्टर सहितका केही स्वास्थ्य सेवा थपिएका छन् तर,निर्माण कम्पनीले भवन निर्माणको काममा ढिलाई गरिदिँदा अस्पतालले नागरिकलाई सरल र सहज रुपमा सेवादिन सकिरहेको छैन्,‘उनले भने’,‘गुल्मी अस्पताल २०७१ सालमा १५ बाट ५० शैयामा स्तरवृद्धि भएपनि भौतिक संरचनाको अभावमा हालसम्म पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।”

निर्माण कम्पनीले कम जनशक्ति प्रयोग गरेका कारण भवन निर्माणमा ढिलाई भएको अस्पतालले जनाएको छ । यतिबेला गुल्मी अस्पतालको नयाँ भवन ५ तल्लाको निर्माण भईरहेको छ । बषौंदेखि ठुलो र सुविधा सम्पन्न अस्पतालबाट विशेषज्ञ सहितको सेवा लिने नागरिकको चाहाना भएपनि त्यो हालसम्म पुरा हुन सकेको छैन ।

स्वच्छन्द–बानियाँ जे.भी हेटाैंडा मकवानपूरले २०८० साल असार १७ गते कामसक्ने गरी २०७८ साल असार १८ गते सम्झौता गरेको थियो । उक्त निर्माण कम्पनीले २५ करोड ९५ लाख ६४ हजार २ सय ३ रु पैयाँमा भवन निर्माणको जिम्मा लिएको थियो । तर, काम सम्पन्न गर्ने सम्झौता समय सकिएपनि हालसम्म अस्पताल भवन निर्माणको काम सकिएको छैन् । समयमै काम नसकिएपछि ठेकेदार कम्पनीले २०८० पुस १७ गतेसम्मका लागि म्याद थप गरेको थियो । तर, थपेको म्यादको समयमा पनि भवन निर्माणको कार्यसम्पन्न भएको छैन ।

भवनको हालसम्म ६७ प्रतिशत भौतिक प्रगति र ५५ प्रतिशत वित्तिय प्रगति भएकोे निर्माण कम्पनीले जनाएको छ । भवन निर्माणमा आवश्यक निर्माण सामाग्री भएपनि पर्याप्त कामदार फिल्डमा नहुँदा भवनको काममा ढिलाई भएको निर्माण कम्पनीका इन्जिनियर सागर दुलालले बताए ।

पछिल्लो समय अस्पतालमा दैनिक ४० देखि ५० जना कामदार परिचालन गरेका निर्माणको कार्यलाई तीव्र गतिमा अगाडी बढाएर छिटो निर्माणको काम सम्पन्न गर्ने इन्जिनियर दुलालको भनाई छ । अब बाकी भवनको काम ६ महिनामै सकिने उनले बताए ।

भवन निर्माणको लागि पटक पटक ताकेता गर्दापनि विभिन्न बाहान बनाएर काममा ढिलाई गरेको पाईएको छ । समयमै भवन निर्माणको काम सम्पन्न नहुँदा एकातिर अस्पतालले सहज रुपमा सेवा प्रवाह गर्न सकेको छैन भने अर्कोतिर सेवाग्राही सेवाको लागि सास्ती खेप्न बाध्य छन् । हाल अस्पतालले बिरामीको चाप धेरै हुने गरेकाले बिहान ९ बजेबाटै ओपीडी सेवा दिदैं आएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया