काठमाण्डाै – ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा एपीएफले बाग्मती प्रदेशलाई ८ विकेटले हरायो । बाग्मतीले दिएको ७४ रनको लक्ष्य एपीएफले ११ ओभरमा २ विकेट गुमाएर भेटायो । एपीएफकी ममता चौधरीले नट आउट ३५ रन बनाइन् । बाग्मतीकी खुशी डङ्गोलले १ विकेट लिइन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको बाग्मतीले २० ओभरमा ६ विकेट गुमाएर ७३ रन बनायो । बाग्मतीकी हेलिशा गुरुङले ३१ रन बनाइन् । एपीएफकी करुणा भण्डारीले ४ र कप्तान सीता राना मगरले २ विकेट लिइन् । यो जितसँगै एपीएफ ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बाग्मतीको यो लगातार दोस्रो हार हो ।
आजै कीर्तिपुरमा भएको अर्काे खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १९ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ७ विकेट गुमाएर ९३ रनमात्र बनाउन सक्यो । कोशीकी काजल श्रेष्ठले ३३ रन बनाइन् । सुदूरपश्चिमकी ऋतु कनौजिया, लक्ष्मी साउद, जानकी थापा र विन्दु रावलले समान १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनायो । सुदूरपश्चिमकी सम्झना खड्काले ५४ रन बनाइन् । कोशीकी सबनम राई, हिरनमई रोय, सङ्गीता राईले समान २ विकेट लिए । यो जितसँगै सुदूरपश्चिम ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । कोशीको यो लगातार दोस्रो हार हो ।